ठूलो मात्रामा लागूऔषधसहित बाराका दुई युवक भारतमा पक्राउ



रौतहट । बाराका दुई जना युवकलाई ठूलो परिमाणमा लागूऔषधसहित भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको छ ।

भारत बिहार मोतीहारी जिल्ला एसएसबी क्याम्प जमुनियाका गस्ती टोलीले पिठवा गाउँ छेउ ३५७ नम्बर पिल्लर (सीमा स्तम्भ) नजिकैबाट लागूऔषधसहित एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका ८ ककोर्वाका महमद वसिर खानको छोरा २५ बर्षीय ईरफान खान रहेको एसएसबीले जनाएको छ ।


भारत घोडासहन बजारबाट भारु ४८ हजार रुपैयाँका विभिन्न किसिमका लागूऔषध इंन्जेक्शन, ट्याब्लेट र सिरप मोटरसाइकलमा राखेर ककोर्वा गाउँतर्फ जानेक्रममा इरफानलाई एसएसबीको टोलीले पक्राउ गरेको थियो । घोडासाहन बजारबाट लगेर सिम्रौनगढ नगरपालिका बाँसवरीया गाउँमा मिठु राय यादवका छोरा राजु यादव र उनका भाइ कञ्चन यादवको घरमा स्टक गरेर बिस्तारै कलैया, नीजगढ, हेटौंडा देखि काठमाडौँसम्म पुर्याउने गरेको इरफानले बताएको एसएसबीले जनाएको छ ।

इरफानलाई बरामद लागूऔषध र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि झरौखर थानामा बुझाइएको एसएसबी क्याम्प जमुनियाले जनाएको छ । यसैबीच इरफानको बयानको आधारमा घोडासहनबाट आफ्नो घर बारा सिरौनगढ बाँसवरीयातर्फ जाँदै गरेको राजु यादवलाई झरौखर थानाको टोलीले नियन्त्रणमा लिएको मोतीहारी जिल्लाका एस्पी कान्तेश कुमार मिश्रले पुष्टि गरेका छन् ।

लागूऔषध कारोबारी दुवै जना आरोपी जिल्ला प्रहरी कार्यालय मोतीहारीको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको एसपी मिश्रले जानकारी दिएका छन् ।

मोतीहारी जिल्लाको प्रहरी प्रमुखको रूपमा आईपिएस अफिसर एसपी कान्तेश मिश्रले कमाण्ड सम्हालेदेखि आपराधिक क्रियाकलापमा कमी आएको स्थानीयले बताएका छन् ।

एसपी मिश्रको नेतृत्वमा गत साता मितीहारी जिल्लामा लोकसभाको निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको थियो ।