ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनुपर्छ : गृहमन्त्री लामिछाने



काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन र नागरिकले महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्न प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताएका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आज निरीक्षण गर्दै गृहमन्त्री लामिछानेले विभिन्न समस्या र अभावका बाबजुद उत्कृष्ट कार्यसम्पादन गर्दै आएका ट्राफिक प्रहरीलाई पनि प्रविधिको उपयोगले थप सहज बनाउने बताए । उनले प्रत्येक प्रहरी कर्मचारीले नागरिकसँग गर्ने व्यवहारमा परिवर्तन ल्याउन र आफ्नो कामप्रति जवाफदेही हुन निर्देशन दिए ।


गृहमन्त्री लामिछानेले ट्राफिक प्रहरीले प्रचलित कानुन कार्यान्वयनमा कडा रूपमा प्रस्तुत हुनुपर्ने बताए । “ट्राफिक नियम मिच्नेलाई छुट दिन हुँदैन, एउटाले नियम मिच्दा अर्काको ज्यान जान सक्छ, त्यसैले ट्रापिक जाँचलाई अझ प्रभावकारी बनाइ लागुपदार्थ सेवन (लापसे), मापसे र लेन अनुशासनमा कसैलाई छुट नदिनुहोला”, उनले भने ।

कार्यसम्पादनका क्रममा फरक क्षमता भएका व्यक्तिहरू, वृद्धवृद्धा एवम् बालबालिकालाई विशेष ध्यान दिन पनि उनले आग्रह गरे । गृहमन्त्री लामिछानेले प्रतिकूल अवस्थाका बाबजुद सडकमा खटिँदा ट्राफिक प्रहरीले भोग्नुपरेका शारीरिक र मानसिक समस्या सम्बोधनका लागि गृहमन्त्रालय सदैव क्रियाशील रहेको उल्लेख गरे ।

गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले ट्राफिक प्रहरीले भोग्नुपरेका समस्या निराकरणका लागि मन्त्रालय सदैव कटिबद्ध रहेको बताए । ट्राफिक प्रहरीले सडकमा खटिँदा विभिन्न समस्या झेल्दै कार्य गर्दै आइरहेकामा प्रविधिको प्रयोग गरी ट्राफिक व्यवस्थापनमा थप सहजता ल्याउन सकिने उनको भनाइ छ ।

“ट्राफिक प्रहरीको क्षमता अभिवृद्धि र प्रविधिको प्रयोगले दुर्घटना न्यूनीकरण र मानवीय क्षति कम गर्न सहयोग पुग्ने हुँदा ट्राफिक प्रहरीलाई प्राविधिक रूपमा सुसम्पन्न गर्नुपर्ने आवश्यकता छ”, उनले भने ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले ट्राफिक व्यवस्थापनलाई समयअनुसार परिवर्तन गर्नुपर्ने बताए । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले ट्राफिक प्रहरीको काम कारबाही, जनशक्ति परिचालन, ट्राफिक व्यवस्थापनका लागि चालिएका कदमबारे जानकारी गराएका थिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव नारायणप्रसाद भट्टराईलगायतको सहभागिता रहेको थियो ।