जसपा नेपालको महाधिवेशनको तयारी तीव्र, एक हजार प्रतिनिधि सहभागी हुने



धनुषा। जनता समाजवादी पार्टी(जसपा)नेपालको प्रथम महाधिवेशनको तयारी तीव्र पारिएको छ।

यही जेठ २७ गते जनकपुरधामको तिरहुतिया गाछीमा महाधिवेशन उद्घघाटन कार्यक्रम रहेको छ। तीन दिनसम्म चल्ने महाधिवेशनका लागि तिरहुतिया गाछीमा निर्माण गरिएको विशाल पण्डाललाई हुरीले भत्काएपछि पुनःनिर्माणको कार्य सुरु भइसकेको छ।


जसपा नेता रामाशिष यादवका अनुसार महाधिवेशनका लागि प्रायःसर्वसम्मतले प्रतिनिधि चयन गरिएका छन्। मधेश प्रदेशका जिल्लामा घरदैलो अभियान गरी प्रचारप्रसार गरिँदैछ। महाधिवेशनमा एक हजार प्रतिनिधि रहने बताइएको छ। महाधिवेशनका लागि निर्वाचन तालिका सार्वजनिक भइसकेको छ।

पाँच सय स्वयंसेवक र पर्यवेक्षक रहने महाधिवेशन तयारी समितिले जनाएको छ। एक हजार पाँच सय जनाका लागि आवास र भोजनको प्रबन्ध मिलाइएको बताइएको छ । जसपाको नयाँ विधान अनुसार पार्टीमा अध्यक्षसहित १७ पदाधिकारी रहने छन्।

महाधिवेशनमा अध्यक्ष पदका लागि निर्वाचन हुने सम्भावना रहेको बताइएको छ। मधेशी जनअधिकार फोरमदेखि नै उपेन्द्र यादव हालसम्म अध्यक्ष रहेका छन्। पार्टी पटक–पटक गरी १४ पटक विभाजन भइसकेको छ।

कार्यकारिणी समितिका सदस्य विजयकुमार यादवले लोकतान्त्रिक विधिअनुसार नेतृत्व चयन हुने भएकाले प्रतिस्पर्धा हुनु अस्वभाविक नभएको बताए। “अध्यक्षलगायत अन्य पदमा पनि प्रतिस्पर्धा हुनसक्छ”, उनले भने, “चुनावको सम्भावना छ ।” सर्वसम्मतले नै केन्द्रीय समिति चयनको प्रयास हुने उनले बताए।

जसपा नेपालको कार्यकारिणी समितिमा हाल आठ जना मात्र छन् । बाइस जनामध्ये अधिकांश पार्टी छाडेका छन्। पछिल्लो पटक अशोक राईको नेतृत्वमा पार्टीका सात सांसदसहित पार्टी विभाजन भएको थियो । त्यसविरुद्ध अध्यक्ष यादवले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी जेठ २५ गते तोकिएको छ।

महाधिवेशनलाई सर्वोच्च अदालतबाट आउने फैसलाले पनि प्रभाव पार्ने देखिएको छ। विभाजनको मान्यता दिने निर्वाचन आयोगको निर्णय रद्ध भए अलग्गिएका पनि जसपा नेपालमा नै समाहित हुनुपर्नेछ।