विश्वले पछिल्लो १२ महिनामा औसत २६ दिन थप अत्यधिक गर्मीको अनुभव गरेको छ । यो जलवायु परिवर्तनबिना सम्भवतः नहुने एक प्रतिवेदनमा उल्लेख छ । गर्मी जलवायुसम्बन्धी मृत्युको प्रमुख कारण हो ।
प्रतिवेदनले विश्वभरि चरम मौसमको आवृत्ति र तीव्रता बढाउनमा विश्वव्यापी तापक्रमको भूमिकालाई औँल्याउँछ । उक्त अध्ययनका लागि वैज्ञानिकहरूले सन् १९९१ देखि सन् २०२० को वर्षहरू प्रयोग गरी त्यो अवधिमा प्रत्येक देशका लागि शीर्ष १० प्रतिशतभित्र कुन तापक्रम गनिन्छ भनेर निर्धारण गरेका छन् । त्यसपछि उनीहरूले कति दिन तापक्रम यसअघिको सीमाभित्र वा त्योभन्दा धेरै रह्यो भन्ने पत्ता लगाउन सकियोस् भनेर सन् २०२४ मे १५ सम्मको १२ महिनालाई हेरेका थिए ।
पुनः सहकर्मी–समीक्षा विधिहरू प्रयोग गरेर वैज्ञानिकहरूले यी प्रत्येक अत्यधिक तातो दिनहरूमा जलवायु परिवर्तनको प्रभावको जाँच गरेका छन् । “मानवजनित जलवायु परिवर्तनले संसारका सबै ठाउँमा चरम गर्मीको २६ दिन थप बढाइदियो”, वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन् । उक्त प्रतिवेदन रेडक्रस रेड क्रिसेन्ट क्लाइमेट सेन्टर, वर्ल्ड वेदर एट्रिब्युसन साइन्टिफिक नेटवर्क र गैरनाफामुखी अनुसन्धान संस्था क्लाइमेट सेन्ट्रलले प्रकाशित गरेका हुन् ।
युरोपेली सङ्घ (इयु) को जलवायु अनुगमन, कोपर्निकसका अनुसार सन् २०२३ रेकर्डमा सबैभन्दा तातो वर्ष थियो । यस वर्ष पहिले नै चरम गर्मीको लहरले मेक्सिकोदेखि पाकिस्तानसम्म विश्वको धेरै भागलाई प्रभावित पारेको छ । पछिल्लो १२ महिनामा करिब छ अर्ब ३० करोड मानिस (विश्व जनसङ्ख्याको झन्डै ८० प्रतिशत) ले कम्तिमा ३१ दिन चरम गर्मीको अनुभव गरेको प्रतिवेदनले बताएको छ ।
समग्रमा अन्टार्कटिका बाहेक हरेक महादेशका ९० विभिन्न देशमा ७६ वटा चरम गर्मीको लहर दर्ता भएका थिए । सबैभन्दा बढी प्रभावित पाँच राष्ट्र ल्याटिन अमेरिकामा थिए । “अत्यन्त गर्मीले पछिल्लो १२ महिनामा दशौँ हजार मानिसको ज्यान लिएको छ तर वास्तविक सङ्ख्या सयौँ हजार वा लाखौँमा हुनसक्छ,” रेड क्रसले विज्ञप्तिमा भनेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव जगन चापागाईंले भन्नुभयो, “बाढी र आँधी हेडलाइनहरू बन्न सक्छन् तर अत्यधिक गर्मीको प्रभाव उत्तिकै घातक छ ।”