छाउगोठमा किशोरी बलात्कृत भएकोबारे जवाफ दिन सरकारलाई अध्यक्ष दाहालको रुलिङ



काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले छाउपडीमा बसेकी अछामकी बालिकामाथि भएको घटनाबारे जवाफ दिन गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन् ।

अछामको पञ्चदेवल नगरपालिका–२ को छाउगोठमा किशोरी बलात्कृत भएको भन्दै सांसदहरूले सरकारको जवाफ मागेका थिए । राष्ट्रिय सभाको आइतबारको बैठकमा अध्यक्ष दाहालले सांसदहरुले उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै घटनाबारे सभालाई जानकारी दिन गृहमन्त्रीलाई निर्देशन दिएका हुन् ।


‘आजको राष्ट्रिय सभा बैठकमा गम्भीरताका साथ उठेको अछामको बालिकामाथि भएको घटनाबारे जानकारी र माननीय सदस्यहरुले उठाउनु भएको सवालका विषयमा जवाफ दिन म माननीय गृहमन्त्रीलाई ध्यानाकर्षण गराउँछु,’ अध्यक्ष दाहालले भने ।

त्यस्तै, उनले गत असार ४ गतेको बैठकमा राष्ट्रिय सभा सदस्यहरुले शून्य समय, विशेष समय लगायत विभिन्न समयमा उठाएका विषयहरुमा जवाफ दिन सरकारका नाममा निर्देशन दिएका छन् ।

आइतबारको बैठकमा अघिल्लो बैठकमा दिइएको ध्यानाकर्षणको स्मरण गराउँदै अध्यक्ष दाहालले सबै मन्त्रीहरुलाई जवाफ दिने कार्यतालिका नै बनाएर पठाइको पनि सभालाई जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here