चन्द्रमाबाट फर्कियो माटो र पत्थरका नमुना लिएर चिनियाँ अन्तरिक्षयान



बीबीसी । चन्द्रमामा पहिला अन्वेषण नगरिएको पृष्ठभागबाट माटो र पत्थरका दुर्लभ नमुनाहरू सङ्कलन गरेर चिनियाँ अन्तरिक्षयान पृथ्वी फर्किएको छ ।

‘चाङ्ग’अ सिक्स’ अन्तरिक्षयान मङ्गलबार इनर मङ्गोलिया मरुभूमिमा अवतरण गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् ।


चन्द्रमाबाट त्यसरी नमुना ल्याउने अभियान ५३ दिन लामो थियो र निकै जोखिमयुक्त थियो । चन्द्रमाबाट सङ्कलित ती नमुनाहरूले ग्रहहरूको उत्पत्तिबारे महत्त्वपूर्ण प्रश्नको उत्तर दिन सक्ने अपेक्षा वैज्ञानिकहरूको छ ।

त्यहाँ बरफ हुन सक्ने भएकाले र त्यसबाट पानी, अक्सिजन अनि हाइड्रोजन निकाल्न सकिने आशा गरिएकाले वैज्ञानिकहरूले उक्त भागको अध्ययनमा रुचि देखाएका हुन् ।

अब उक्त ’प्रोब’लाई बेइजिङ पठाइने र सङ्कलित नमुना निकालिने चिनियाँ राष्ट्रिय प्रसारक सीसीटीभीले जनाएको छ । ’चाङ्ग–अ सिक्स’ चीनले चन्द्रमामा पठाएको छैटौँ अनि चन्द्रमामाको पृष्ठभागमा पठाएको दोस्रो अभियान हो ।

चीन मात्र चन्द्रमाको सुदूर भागमा पुगेको छ । उक्त भाग पृथ्वीपट्टि फर्किँदैन। कुनै अन्तरिक्षयानलाई त्यहाँ पुग्न दूरी र त्यहाँको अप्ठ्यारो धरातलका कारण प्राविधिक चुनौती हुन्छ । त्यो भागमा ठूलाठूला खाडलहरू छन् र थोरै समथर जमिन छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here