गण्डकी प्रदेशस्तरीय क्रिकेट : नवलपुर र स्याङ्जा विजयी



कास्की । पोखरा रङ्गशालामा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नवलपुर र स्याङ्जा विजयी भएका छन् ।  यही जेठ ३२ गतेदेखि जारी प्रतियोगिताको समूह ‘बी’ को खेलमा जित निकालेका हुन् । नवलपुर र पर्वतबीचको भएको खेलमा नवलपुर छ विकेटले विजयी भयो । 

वर्षाका कारण पाँच ओभर घटाइएको खेलमा टस जितेर पारीको सुरुआत गरेको पर्वतले सात विकेटको क्षतिमा ९३ रन बनायो । पर्वतका लागि रितिक थापाले २९ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २९ रनको योगदान दिए । अमृत गुरुङले १५ बलमा दुई चौका र एक छक्काको मद्दतले २३ रन जोडे । साथै दीपेन्द्र भण्डारीले १३, रोशन गौतमले ११ र सन्देश खड्काले १० रन जोडे ।


नवलपुरका लागि बलर ऋषि गोविन्द श्रेष्ठले तीन ओभरमा १९ रन दिएर तीन विकेट लिए । कमल परियारले दुई, सुदीप अर्याल र स्वीकार श्रेष्ठले समान एक÷एक विकेट लिए । 

जितका लागि ९४ रन पछ्याएको नवलपुरले १३ ओभरको चौथो बलमा चार विकेट गुमाउँदै लक्ष्य भेट्याउन सफल भयो । ‘खेलको प्लेयर अफ दि म्याच’ घोषित नवलपुरका प्रमीश अर्यालले ३६ बलमा चार चौका प्रहार गर्दै ३४ रन जोडे ।
 
रिजन काफ्ले १६ बलमा दुई चौकासहित २७ रनमा ‘नटआउट’ रहे । दीपक डुम्रेले १४ रनको योगदान दिए । पर्वतका रोशन गौतमले दुई विकेट लिए भने विकाश क्षेत्रीले एक विकेट लिए । 

यसैगरी गोरखा र स्याङ्जाबीच भएको खेलमा स्याङजाले जित हासिल गर्न सफल भयो । बलर किरण भट्टराईले पाँच विकेट लिँदा स्याङ्जाले १० विकेटले सम्मानजनक जित दर्ता गरेको छ । टस जितेर ब्याटिङमा उत्रिएको गोरखा १८ दशमवल एक ओभरमा सबै १० विकेट गुमाउँदै ७४ रनमा समेटियो । 

अतिरिक्त १३ रन पाएको गोरखाका गौरव पौडेलले ३५ रनको योगदानबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन छुन सकेनन् । स्याङ्जाका किरणले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा दुई मेडनका साथ सात रन दिएर पाँच जनालाई आउट गरे । उनी खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित भए । त्यस्तै विपीनराज न्यौपानेले तीन विकेट लिए भने अङ्कित न्यौपाने र तुलसी भण्डारीले समान एक÷एक विकेट लिए ।

जवाफी व्याटिङमा उत्रिएको स्याङजाले विस्फोटक व्याटिङ गर्दै आठ ओभरको चौथो बलमा कुनै पनि विकेट नगुमाइ ७५ रनको लक्ष्य भेटायो । 

स्याङ्जाका ओपनर खेलाडीद्वय ईश्वर क्षेत्री र करण पगेनीको जोडीले उत्कृष्ट ब्याटिङ गर्दै लक्ष्यमात्रै भेटाएनन् टिमका लागि दुई अङ्कसमेत जोडे । ईश्वरले २३ बलमा तीन चौका र तीन छक्काको मद्दतले ३६ रन बनाउँदा करणले २९ बलको सामना गर्दै तीन चौका र एक छक्का प्रहार गर्दै ३६ रनको योगदान दिए ।

प्रदेश खेलकुुद परिषद्को आयोजना तथा प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा गत जेठ ३२ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताअन्तर्गत मङ्गलबारको पहिलो खेल पर्वत र स्याङ्जाका बीच हुनेछ भने दोस्रो खेल गोरखा र नवलपुरबीच हुने प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

प्रतियोगिताबाट आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनोट गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार रु एक लाख र उपविजेता टिमलाई नगद रु ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् ।  प्रतियोगितामा आठ जिल्लाको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा कास्की, बाग्लुङ, म्याग्दी र तनहुँ छन् भने समूह ‘बी’ मा र स्याङ्जा, नवलपुर, गोरखा र पर्वत छन् । समूह ‘ए’ बाट लिग चरणका तीन वटै खेल जित्दै कास्की समूह विजेता बनेर फाइनलमा पुगिसकेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here