गणतन्त्रपछि हरेक क्षेत्रमा सम्भावनाका ढोका खुलेका छन् : अध्यक्ष यादव



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गणतन्त्रपछि मुलुक विकास र प्रगतिको बाटोमा क्रमशः अगाडि बढिरहेको बताएका छन् । गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धि : समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनीको अवलोकनपश्चात् उनले गणतन्त्रपछि हरेक क्षेत्रमा सम्भावनाका ढोका खुलेका बताए ।

अध्यक्ष यादवले गणतन्त्रपछि केही भएन भन्ने गरिएकामा त्यसलाई चिर्न तस्बिर प्रदर्शनी सफल भएको र सबैले यस्ता रचनात्मक काममार्फत जवाफ दिन जरुरी रहेको बताए । “गणतन्त्रपछि विकास र पूर्वाधारका क्षेत्रमा धेरै उपलब्धि भएका छन् तर जनताको उच्च अपेक्षा र सीमित स्रोतसाधनबीच तालमेल नहुँदा केही प्रश्न भने उठेका छन् । क्रमशः देश विकास गरेर ती प्रश्न पनि सम्बोधन गर्दै जानुपर्छ”, उनले भने ।


अध्यक्ष यादवले गणतन्त्रपछि भौतिक पूर्वाधारका क्षेत्रमा धेरै प्रगति र विकास हुनुका साथै मानवीय र सञ्चारका क्षेत्रमा पनि महत्वपूर्ण उपलब्धी भएको उल्लेख गरे । उनले भने, “गणतन्त्रपछि नेपालले यातायात, सञ्चार तथा सूचना प्रविधि, सिँचाइ, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारलगायत हरेक क्षेत्रमा महत्वपूर्ण काम गरेको छ । कृषि र उद्योग क्षेत्रमा भने अपेक्षिकृत परिवर्तन हुन नसकेका कारणले रोजगारी सिर्जनामा पछि परेको अवस्था छ । अब त्यस बाटोमा अगाडि बढ्नुपर्ने आवश्यकता छ ।”

विगतमा सातदेखि १५ दिनसम्म हिडेर पुग्ने ठाउँमा अहिले गाडीबाट छोटो समयमै पुग्न सम्भव भएको उदाहरण दिँदै उनले सञ्चार र यातायातको सम्पर्क सञ्जाल विस्तार भएसँगै मानिसको पहुँचवृद्धि र जीवनस्तरमा सुधार भएको बताए ।

जसपा अध्यक्ष यादवलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झालगायतले प्रदर्शनीमा राखिएका तस्बिरबारे जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here