गङ्गादशहरा मेलामा एक लाख बढी भारतीय भक्तजन



कैलाली । गङ्गादशहरा पर्वका अवसरमा धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा लागेको धार्मिक मेलामा एक लाख बढी भारतीय भक्तजन आएका छन्।

असार  १ देखि ५ गतेसम्म सञ्चालन भएको मेलामा एक लाख ५० हजारको हाराहारीमा भारतीय भक्तजन आएको बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए।


बेहडाबाबामा गङ्गादशहरा मेलाका लागि छिमेकी मुलक भारतबाट प्रत्येक वर्ष दर्शनार्थी ठूलो सङ्ख्यामा आउने गरेका छन्।  ‘वर्षौंदेखि यहाँ भारतीय भक्तजन आउने गरेकामा विसं २०६२/६३ को आन्दोलन पछि भक्तजनको सङ्ख्या घटेको थियो। यसपालि सङ्ख्या बढेको छ,’ अध्यक्ष जोशीले भने।

बेहडाबाबा मन्दिरको दर्शनले मनमा शान्ति एवं इच्छाएको कुरा पुग्ने भक्तजनको विश्वास छ। यहाँ प्रत्येक वर्ष भारतको लख्खीमपुर, पलिया, पिलीभित, युपी, उत्तराखण्डलगायतका विभिन्न क्षेत्रबाट भक्तजन आउने गरेका छन्। 

परापूर्व कालदेखि गङ्गादशहरा, महाशिवरात्रिलगायतका पर्वमा बेहडाबाबा मन्दिर दर्शनका लागि भक्तजन आउने गरेका छन्। यहाँ आउने भक्तजनका लागि निःशुल्क खाना र पानीको व्यवस्था गरिएको थियो। उक्त मेलामा चार सयको सङ्ख्यामा व्यापारिक स्टल राखिएका थिए।