झापा । कोशी प्रदेशमा विगत दश वर्षमा चट्याङ लागेर दुई सय ५४ जनाले ज्यान गुमाएका छन् । मनसुनी वर्षाको अवधिभर प्रदेशमा चट्याङले त्रास सृजना गर्दै आएको छ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापाका अनुसार विसं २०७० देखि २०८० सम्मको एक दशकका मनसुनजन्य विपद्को विश्लेषण गर्दा सबैभन्दा बढी मानवीय क्षति चट्याङबाट सृजना भएको छ ।
उक्त अवधिमा कोशी प्रदेशमा चट्याङका छ सय ९८ घटना भएका थिए । त्यसमा दुई सय ५४ जनाको मृत्यु र पाँच सय ८७ जना घाइते भएको उनले जानकारी दिए । प्रदेशभर एक दशकमा सात सय ५७ परिवार चट्याङबाट प्रभावित भएका थिए ।
उपसचिव थापाका अनुसार एक दशकमा चट्याङबाट रु तीन करोड ९५ लाख ५८ हजार पाँच सय बराबरको भौतिक सम्पत्तिको क्षति भएको छ । खेतमा कृषिको काम गरिरहेका किसान चट्याङको सिकार बन्ने गरेका छन् ।
कोशी प्रदेशमा एक दशक अवधिमा मनसुनजन्य विपद्का दुई हजार ६० घटना भएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१’ मा उल्लेख छ । यस अवधिमा मनसुनजन्य विपद्बाट पाँच सय ८३ मानिसको मृत्यु, एक सय २० बेपत्ता र सात सय ४९ जना घाइते भएका थिएभने १८ हजार सात सय २८ परिवार प्रभावित भएका थिए ।
मनसुनजन्य विपद्मध्ये बाढीका चार सय ६४ घटनामा एक सय ३२ जनाले ज्यान गुमाएका थिएभने ८२ बेपत्ता र २५ जना घाइते भएका थिए । पहिरोबाट सोही अवधिमा छ सय ७२ घटना भएका थिए । त्यसमा एक सय ९२ जनाले ज्यान गुमाउनु परेको थियोभने ३८ जना बेपत्ता र एक सय १९ जना घाइते भएका थिए ।
एक दशकको मनसुनजन्य विपद्बाट भएको मानवीय क्षतिको विश्लेषण गर्दा लगभग आधा जति मानवीय तथा भौतिक क्षति चट्याङबाटै हुने गरेको छ । विपद्विज्ञ यशप्रसाद सुब्बाले विश्वको चट्याङ पर्ने पाँच ‘हटस्पट’मा नेपाल पनि पर्ने बताए । जलवायु परिवर्तन र भौगोलिक स्थितिका कारण नेपालमा चट्याङको प्रकोप हुने गरेको छ ।
“प्रभावकारी अर्थिङको व्यवस्था नहुनु र सचेतनाको कमीका कारण चट्याङबाट बढी क्षति भइरहेको छ”, सुब्बा भन्छन् । चट्याङ प्राकृतिक प्रकोप भए पनि यसबाट हुने क्षति न्यूनीकरणका उपाय भए पनि मानवीय लापर्वाहीले बढी क्षति हुने गरेको विज्ञहरु बताउँछन् ।
नेपालमा खेतमा काम गरिरहेका किसान चट्याङको निशानामा पर्ने गरेका छन् । मानिस र पशु चौपायाको बढी सङ्ख्यामा मृत्यु भइरहेको छ । चट्याङबाट विद्युतीय उपकरणमा समेत ठूलो आँकडामा हुने क्षति हुने गरेको छ ।
कोशी प्रदेशमा यस वर्ष एक लाख १३ हजार तीन सय ५३ घरधुरी मनसुनजन्य विपद्बाट प्रभावित हुने अनुमान गरिएको छ । त्यसमध्ये ३७ हजार आठ सय घरधुरी अझ बढी प्रभावित हुनसक्ने अनुमान गरिएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१’ मा उल्लेख छ ।