बालेनमाथि संसदमा खनियो एमाले–‘काठमाडौंका मेयर बालेनले संयमता गुमाउँदैछन्’



काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नेपाली कांग्रेसले संसद्मा पछिल्लो समय उत्तेजना र उत्ताउलो काम गरेको आरोप लगाएका छन् । महिनौंसम्म संसद् अवरोध गरेको विषयमा सांसद भट्टराईले यस्तो आरोप लगाएका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले नेपाली कांग्रेसले काँक्रा आफू चोरेर खाने अनि बियाँ अरुकै गालामा टाँसिदिने काम गरेको आरोप लगाए ।

उनले भने,‘नेपाली कांग्रेसको अनुहारमा कालो पोतिएको छ । ऐना पुछेर हुँदैन् ।’ पछिल्लो समय गिरिबन्धु टि–स्टेट प्रकरणमा आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नाम मुछेर टिकाटिप्पणी हुन थालेको भन्दै उनले ०४६ सालपछि वा त्यसअघिदेखि आजसम्मका सबै काण्डको फाइल खोल्न आफूहरु तयार रहेको बताए ।


उनले भने,‘नेकपा एमाले प्रत्येक छानबिनको लागि तयार छ । एनसेलको गर्ने हो कि, बाँसबारीको गर्ने हो कि, टेरामक्स, टिकापुरको गर्ने हो कि बाल मन्दिरको गर्ने हो कि ।’ उनले एमालेमा त्यस्तो पार्टी भएको र अहिलेसम्म अदालत र अख्तियारमा भ्रष्टाचारको विषयमा बयान दिन जानुनपरेको बताए । उनले कांग्रेसले सभामुख देवराज घिमिरेमाथि महाभियोग लगाउने कुरा गरेको सुनेको उल्लेख गर्दै एमालेसँगपनि महाभियोग लगाउने संख्या रहेको चूनौति दिए ।

यद्धपी उनले आफ्नो दलले महाभियोगको लागि संसद्को संख्यालाई दुरुपयोग नगर्ने जिकिर गरे । उनले काठमाडौं महानगर र सडक विभागबीच उत्पन्न भएको विवादको दोषपनि एमालेले बोक्नुपर्ने हो ? भन्दै प्रश्न गरे । उनले भने,‘म काठमाडौं महानगरका प्रमुखलाई सम्मानका साथ भन्न चाहन्छु–उहाँ जननिर्वाचित प्रतिनिधि हो । उहाँले चुनाव जितेर आएपछि हामीपनि आशावादी भएका थियौं । चुनाव जित्दा हाम्रो पार्टीका अध्यक्षले उहाँले तवला उपहार दिनुभएको थियो । उहाँले तवला उपहार दिनुको अर्थ हो–तवला भनेको सद्भाव, प्रेम हो । संयतता हो ।’ काठमाडौंका मेयर बालेनले काठमाडौंमा स्थापित ऋषिमुनिहरु, बुद्धको सभ्यतामाथि धावा बोलेको भट्टराईको आरोप छ ।

उनले काठमाडौंका महानगरका मेयर साहलाई आफूहरु सहयोग गर्न तयार रहेको सुनाए । उनले भने,‘हामी उहाँलाई सहयोग गर्न तयार छौं । काठमाडौंलाई ल्याण्डफिट साईट चाहियो, त्यो नेकपा एमालेको सरकारको पालामा हामीले ल्याण्डफिट साईट खोज्यौं । अर्को हामीले बञ्चरेडाँडो पनि खोज्यौं । काठमाडौंलाई सांस्कृतिक शहरको रुपमा विकास गरेर विद्यासुन्दर शाक्य विदा हुनुभयो । उहाँले १५ अर्ब बचत गरेर विदा हुनुभएको थियो । म भन्न चाहन्छु बालेनजी–पैसा कति चाहियो ? सरकार दिन तयार छ । हामी दिन्छौं । सरकारले दिन्छ । काठमाडौंलाई राम्रो गर्न योजना के छ, आउनुहोस हामी संगसँगै काम गरौं । तर, उत्तेजना फैलाएर अनि उच्छृंखल फैलाएर हुँदैन् । लाखौं युवाहरुले तपाईंमार्फत आफ्नो भविष्य खोजेका हुन् । तर, पछिल्लो दिनमा तपाईं जसरी जाँदै हुनुहुन्छ, ती युवाहरुको सपना र मुलुकलाई धोका दिँदै हुनुहुन्छ ।’