काठमाडौँबाट १५ करोडको कोकिन बरामद, ४ जना विदेशी पक्राउ



काठमाडाैं । प्रहरीले १५ करोड ७६ लाख मूल्यकाे  ४ किलो ५ सय ४ ग्रामस लागुऔषध कोकिनहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

बिहीबार नेपाल प्रहरीकाे लागुऔषध नियन्त्रण ब्युरोले पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको हो ।


प्रहरी नायब उपरीक्षक एवं लागुऔषध नियन्त्रण ब्युरोका सहायक प्रवक्ता प्रेमबहादुर शाहीले विभिन्न मुलुकबाट नेपाल प्रवेश गरी शंकास्पद गतिविधि गर्ने विदेशी नागरिकहरूको निगरानी गर्दै जाने क्रममा उनीहरूलाई लागुऔषध कोकिनसहित पक्राउ गरिएको जानकारी दिए ।

उनका अनुसार जेठ २७ गते फ्लाइ दुबईको उडानबाट नेपाल आएका वर्ष ६८ का तान्जिनियन नागरिक डोनाल्ड ज्याक्सन माबुगालाई काठमाडौं- १६ ठमेलस्थित एक होटलबाट अवैध लागुऔषध कोकिन १८ क्याप्सुलसहित पक्राउ गरिएको थियो । उनले उक्त प्लास्टिक कोडेट कोकिनका क्याप्सुलहरू इथियोपियाको एडिस अबबा पुगी निलेर काठमाडौं आएको पाइएको बताए ।

अनुसन्धानको क्रममा पेटमा थप क्याप्सुल रहेको बताएपछि हालसम्म निजबाट ५९ क्याप्सुलहरु समेत गरी ७७ वटा कोकिनका क्याप्सुलबाट १ केजी २६० ग्राम बरामद गरिएको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।

जेठ ३० गते इमिरेट्सको उडानमार्फत ब्राजिल हुँदै नेपाल आएकी ३३ वर्षकी बोलिभियन नागरिक लाउरा क्रुज टिकोना पनि पक्राउ परेकी छन् । उनको झोलामा महिलाले प्रयोग गर्ने १२१ वटा फेन्सी लुगामा बटनभित्र लुकाएर राखेको अवस्थामा लागुऔषध कोकिन २ किलो सय ग्राम बरामद गरिएकाे छ ।

त्यस्तै, असार १ गते कतार एयरको उडानबाट नेपाल आएका भेनेजुयलाका ३९ वर्षीय सिमोन एन्टोनियो एल्फोन्जो राडालाई काठमाडौं- २६ स्थित एक होटलबाट शंकास्पद रूपमा बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए । उनको साथबाट कोकिनका ९२ क्याप्सुलबाट १ किलो १९८ ग्राम बरामद गरी अनुसन्धान भइरहेको छ ।

उनले कोकिनका उक्र क्याप्सुलहरू डेलिभरि दिने क्रममा भारत मिजोरम बस्ने वर्ष २७ की भारतीय नागरिक लालरु उत्सङ्गीलाई भारतको नयाँ दिल्ली लैजान लागेको अवस्थामा पक्राउ गरिएको बताए ।