कांग्रेसले ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रदर्शनी गर्ने



काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा फोटो प्रदर्शनी आयोजना हुने भएको छ ।

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको संयोजनमा यही असार १८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘क्रान्तिदेखि शान्तिसम्म, ऐतिहासिक फोटो प्रदर्शनी’ आयोेजना हुने बताएको छ ।


प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले गणतन्त्र स्थापनाका लागि गिरिजाबाबुले दिएको अथक योगदान र सङ्घर्षलाई फोटो प्रदर्शनीमार्फत देखाउन खोजिएको बताए ।

कांग्रेसले प्रदर्शनीमा राख्नका लागि आफूसँग भएका दुर्लभ फोटो यही असार १५ गतेसम्म पठाउन सबैलाई अनुरोधसमेत गरेको छ । फोटो प्रदर्शनीका दिन विभिन्न विषयमा विज्ञ वक्ताको विमर्श कार्यक्रम गरिने उनले बताए । प्रदर्शनीको कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शुभारम्भ गर्ने बताइएको छ ।