कांग्रेसको प्रश्नः प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमणबारे अखबार पढेर थाहापाउनुपर्ने ?



काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको छ ।

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री भारत भ्रमण गरेर फर्किएको पाँच दिन हुँदा पनि संसदमा उपस्थित भएर जानकारी नगराएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।


उनले प्रधानमन्त्री संसदमा नआएको बताउँदै सरकारले संसदको गरिमालाई कमजोर बनाएको भन्दै आपत्ति जनाए ।उनले राष्ट्रपति र प्रधानमन्त्री देश बाहिर गएको कुरा अखबारबाट थाहा पाउनुपर्ने दुर्भाग्य भएको बताए ।

उनले भने, ‘प्रधानमन्त्री भारत भ्रमणबाट फर्केको पनि पाँच दिन भइसकेको छ । प्रतिपक्षी दल धैर्यतापूर्वक कुरेर बसेका थियौं भारतको भ्रमणबारे सदनमा आएर जानकारी गराउनुहोला भनेर । पाँच दिनसम्म यहाँ आउन सक्नुभएन । के प्रधानमन्त्री सदनदेखि डराउनुभएको हो ? प्रधानमन्त्री यो सदनको नेता हो । देशको कार्यकारी प्रमुख विदेश भ्रमणमा जाँदै गर्दा यो सदन अनभिज्ञ रहनुपर्ने, जानकारी नपाइनाले र पत्रिका पढेर थाहा पाउनुपर्ने यो जुन स्थिति छ, यो सरकारको दुर्भाग्य हो कि मेरो सौभाग्य ? सरकारका कारणले संसदको न्यूनतम गरिमा र मर्यादा पनि कायम गर्ने काम भएन, यसका प्रति कांग्रेस खेद व्यक्त गर्दछ ।’

त्यस्तै लेखकले गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्दै नेतामाथि गम्भीर आरोप लगाएको विषयमा आफूहरुले जवाफ माग गरेको तर प्रधानमन्त्री संसदमा नै नआएको बताए ।

उनले आगामी बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमणबारे सरकारलाई जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराउन माग गरेका छन् ।