उपप्रधानमन्त्री श्रेष्ठद्वारा भारतीय विदेशमन्त्रीलाई बधाई



काठमाडौं। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतीय समकक्षी एस जयशंकरलाई बधाई तथा शुभकामना दिएका छन्।

उपप्रधानमन्त्री श्रेष्ठले बुधबार भएको टेलिफोन वार्तामा जयशंकरलाई विदेश मन्त्रीमा पुनः नियुक्त भएकामा बधाई दिँदै नेपाल–भारत सम्बन्धका विभिन्न पक्षबारे कुराकानी गरेको सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका हुन्।


त्यसअवसरमा उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको पारस्परिक लाभकारी सहयोगलाई अझ अगाडि बढाउन सँगै काम गर्न तत्पर रहेको बताएको उल्लेख गरेका छन्।

यसैगरी भारतीय विदेश मन्त्री जयशंकरले पनि न्यानो भावनात्मक शुभकामना र बधाईका लागि उनलाई धन्यवाद व्यक्त गर्दै प्रशंसा गरेका छन्। विदेश मन्त्री जयशंकरले द्विपक्षीय मित्रतालाई अगाडि बढाउनका लागि मिलेर काम गर्न तत्पर रहेको सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन्।