इरानका पूर्वराष्ट्रपति अहमदीनेजादद्वारा नयाँ राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता



इरानी संसदका पूर्वसभामुख अली लारिजानीले इब्राहीम रइसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि आगामी महिना हुने राष्ट्रपतीय निर्वाचनका लागि शुक्रबार आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

यसअघि, सन् २०२५ मा चुनाव हुनेगरी तय भएको निर्वाचन मे १९ मा रइसीको निधन भएपछि सरेको थियो।


गृह मन्त्रालयले बिहीबार देखि जुन २८ मा हुने प्रारम्भिक मतदानका लागि उम्मेदवारहरूको दर्ता सुरु गरेको छ र राष्ट्रपतिपदका आकांक्षीहरूले सोमबारसम्म आवेदन दिन सक्नेछन्।

इरानको विदेश नीतिबारे तुलनात्मक रूपमा नरम मानिएका ६६ वर्षीय लारिजानीले शुक्रबार बिहान आफ्नो निवेदन दिएको सरकारी टेलिभिजनले प्रसारण गरेको फुटेजमा उल्लेख छ।

उनले आफू निर्वाचित भएमा अमेरिकी प्रतिबन्धको समस्या समाधान गर्ने र देशको अर्थतन्त्रमा सुधार ल्याउने आफ्नो ‘प्राथमिकता’ रहेको बताएका छन्।

यद्यपि, इरानमा राष्ट्रपतिपदका सबै आकांक्षीहरूजस्तै उनको उम्मेदवारीलाई पनि १२ सदस्यीय न्यायविद्हरूको निकाय ‘गार्जियन काउन्सिल’ले अनुमोदन गर्नुपर्छ।

सन् २०२१ को चुनावअघि परिषद्ले अयोग्य घोषित गरेका केही सुधारवादी र उदारवादी उम्मेदवारमध्ये लारिजानी पनि एक हुन्।

उक्त निर्वाचनमा ४८.८ प्रतिशत मात्र मतदान भएको थियो।

लारिजानीले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरमा काम गरिसकेका छन् र तीन दशकभन्दा बढी समयदेखि इरानका विभिन्न महत्त्वपूर्ण पदमा रहिसकेका छन्।

उनले सन् २००० को दशकको सुरुमा पश्चिमा मुलुकसँग इरानको आणविक वार्ताको निरीक्षण गरेका थिए तर इरानका प्रसिद्ध पूर्वराष्ट्रपति महमुद अहमदीनेजादसँग ‘गम्भीर मतभेद’ भएको भन्दै दुई वर्षपछि राजीनामा दिएका थिए।

तेहरान र विश्व शक्तिराष्ट्रहरूबीच सन् २०१५ मा भएको आणविक सम्झौतालाई समर्थन गरेका तीन पटक संसदका सभामुख रहेका लारिजानीले दर्शनशास्त्रमा विद्यावारिधि गरेका छन् र उनी इस्लामिक गणतन्त्रको लिपिकीय नेतृत्वसँग सम्बन्ध भएका प्रभावशाली परिवारमा जन्मिएका हुन्।

गत बिहीबार अर्का पूर्व आणविक वार्ताकार कट्टरपन्थी सइद जलिलीले राष्ट्रपतिपदको उम्मेदवारका रूपमा नाम दर्ता गराएका थिए।