इन्द्रावतीमा लिच्छविकालीन अभिलेख भेटियो



सिन्धुपाल्चोक । जिल्लाको इन्द्रावती गाउँपालिका–१० महादेवटारमा लिच्छवि लिपियुक्त संवत् ४४२ (विसं ५७७) को अभिलेखसहितको शिवलिङ्ग भेटिएको छ । 

आँपको रुख र काँडाघारीभित्र रहेको खण्डित जलहरिपीठमा छ पङ्क्तिको प्राचीन लिच्छवि लिपियुक्त अक्षर भेटिएको जनाइएको छ ।


गाउँपालिकाले पालिकामा रहेका प्राचीन पुरातात्विक एवं ऐतिहासिक सम्पदाको खोज एवं अभलेखीकरण गर्न हिमवत्खण्ड मिडिया प्रालिमार्फत विज्ञ अनुसन्धानकर्तासहितको टोली खटाएकामा उक्त लिच्छविकालीन अभिलेख भेटिएको हो । 

अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक एवं लिपिविज्ञ तथा इतिहासकार प्रा डा दिवाकर आचार्यकाअनुसार इन्द्रावतीको महादेवटारमा भेटिएको शिवलिङ्गको फुटेको जलहरीमा उत्कीर्ण संवत् ४४२ (शकसंवत् मान्दा विसं ५७७) पुस ५ मिति अङ्कित शिलालेखमा राजाको नाम भने छैन ।

“काठमाडौँ उपत्यका बाहिर फेला परेको यस अभिलेखको विशेष महत्व छ”, आचार्यले भने । उक्त अभिलेखबाट लिच्छविकालमा राजपरिवारपछिको सबैभन्दा शक्तिशाली र शिक्षित परिवारका एक नयाँ सदस्य र उनको समस्याग्रस्त चरित्र एवं सन्देहास्पस्द अवसानको सूचना प्राप्त भएको उनको भनाइ छ ।

इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले महादेवटारमा लिच्छविकालीन अभिलेख भेटिँदा अत्यन्तै खुसी लागेको बताए । उनले सो स्थानको सुरक्षा र उत्खननका लागि पुरातत्व विभागमार्फत पहल थालिसकेको र उत्खननका लागि गाउँपालिकाले बजेटसमेत व्यवस्थापन गरेको बताए । 

इन्द्रावतीका  प्रवक्ता एवं वडा नं ५ का वडाध्यक्ष शशिनाथ आचार्यले भने, “सम्पदा र संस्कृति, जात्रा परम्परामा हामी अब्बल थियौँ, लिच्छविकालीन प्रमाण नै भेटिएपछि सबै प्रफुल्ल भएका छौँ ।”