अवसरहरुको अधिकतम् प्रयोग गर्दै समृद्ध नेपाल निर्माणमा हातेमालो गरौंः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकलाई सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताएक छन् ।

आज (शुक्रबार) आइसिटी फाउण्डेशनले आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ लाई सम्बोधन गर्दै उनले बजेटमार्फत १० वर्षमा ३० खर्बको सूचना प्रविधिसम्बन्धी सेवा निर्यात र पाँच लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको बताएका हुन् ।


प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय ‘देश बन्दैन’, ‘यो देशमा केही हुँदैन’ भन्ने नकारात्मक भाष्य स्थापित गर्ने प्रयास भइरहे बताए । ‘पछिल्लो समय हामी कहाँ एउटा नकारात्मक भाष्य स्थापना गर्ने कोशिस हुँदै पनि आएको छ । ‘देश बन्दैन, यो देशमा केही पनि हुँदैन । यही भाष्यका कारण पनि युवा, बौद्धिक र प्राविधिक जनशक्ति विदेश पलायन हुने प्रक्रिया बढेको हो,’– उनले भने ।

सूचना, प्रविधिको क्षेत्रमा भइरहेको विकासले देशको विकास, समृद्धि र स्वरोजगारका क्षेत्रमा प्रगति हुँदै गएको पुष्टि गर्ने प्रचण्डको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले उत्पादन, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनाका क्षेत्रमा सरकारले गरेको निरन्तर प्रयासका कारण राष्ट्रभित्र क्रमशः उत्साहको वातावरण निर्माण हुँदै गएको बताए । सूचना प्रविधिको क्षेत्रमा छोटो समयमा नेपालले हासिल गरेको प्रगतिले देशको विकास र रोजगारीको क्षेत्रमा आशालाग्दो वातावरण बन्दै गएको उनको भनाइ छ । ‘अहिलेको समय निराशा बाँड्ने समय होईन । बरु हाम्रा सामु सिर्जना भएका अवसरहरुको अधिकतम् उपयोग गर्दै समृद्ध नेपाल निर्माणमा हातेमालो गर्नु हो,’– उनले भने ।