अफगानिस्तानमा सामुहिक कुटपिटको घटनाप्रति राष्ट्रसङ्घद्वारा चासो व्यक्त



काबुल । संयुक्त राष्ट्रसङ्घले बुधबार अफगानिस्तानमा दर्जनौँ मानिसहरूलाई सामुहिक कुटपिट गरिएको भन्दै तालिबान अधिकारीहरूलाई यो अभ्यास अन्त्य गर्न आह्वान गरेको छ । 

अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय मिसन (यूएनएएमए)ले उत्तरी सारिपुल प्रान्तमा मङ्गलबार करिब ६३ जनालाई कोर्रा प्रहार गरी सार्वजनिक रूपमा कुटपिट गरिएको जनाएको छ । 


‘यूएनएएमएले शारीरिक दण्डको निन्दा गर्दछ र अन्तर्राष्ट्रिय मानवअधिकार दायित्वहरूको सम्मान गर्न आह्वान गर्दछ,’ मिसनले एक्समा पोस्ट गरिएको एक विज्ञप्तिमा उल्लेख गरेको छ । 

सन् २०२१ अगस्टमा सत्तामा फर्किएपछि तालिबान अधिकारीहरूले इस्लामिक कानून शरियाको पुनः व्याख्या गरेका छन् । 

जनताले सार्वजनिक मृत्युदण्ड र शारीरिक यातनाहरू भोगिरहेका छन् । चोरी, व्यभिचार र रक्सी सेवनजस्ता अपराधका लागि तालिबान सरकारले कोर्रा प्रहार  (कडा सजाय) गर्ने गरेको छ ।