काठमाडौं । सहकरी ठगीको विषयमा छानबिन गर्न सरकारले बनाएको संसदीय छानबिन समितिको पहिलो बैठक आज बस्दैछ ।
प्रतिनिधिसभाको बैठक लगत्तै सभामुखको उपस्थितिमा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।
सभामुखको सचिवालयको अनुसार बैठक संसद भवन बानेश्वरस्थित शंकर हलमा बस्नेछ । गत साता गठित समितिलाई प्रतिनिधि सभाले काम थाल्न एक साताको समय दिएको थियो ।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको दाबी गरेपछि अनुसन्धान गर्नको लागि माग गरेपछि समिति गठन गरिएको छ ।
समितिमा ईश्वरीदेवी न्यौपाने, ध्रुवबहादुर प्रधान, बद्री पाण्डे, लेखनाथ दाहाल, शिशिर खनाल, सरिता भुसाल र सूर्यबहादुर थापा रहेका छन् । सात सदस्यीय समितिमा कांग्रेस र एमालेका तर्फबाट २र२, माओवादी, रास्वपा र राप्रपाका १-१ जना सदस्य रहनेछन्।
समितिमा कांग्रेसबाट पाण्डे र न्यौपाने, एमालेबाट थापा र भुसाल, माओवादी केन्द्रबाट दाहाल, रास्वपाबाट खनाल र राप्रपाबाट प्रधान सदस्य रहने भएका छन् । ७ सदस्यीय समितिमा सत्तापक्षको ४ सांसद रहेका छन् ।
समितिले सहकारीमा देखिएको समस्या समाधान, बचतकर्ताको रकम फिर्ताकोको उपायसहितको सुझाव दिनेछ । कार्यादेशमा समस्याग्रस्त २९ सहकारीको नाम समेत उल्लेख छ । जसमा गृहमन्त्री संलग्न भएको ९ सहकारीलाई बेग्लै अनुसूचीमा राखिएको छ । समितिलाई छानबिन गरेर प्रतिवेदन बुझाउनको लागि तीन महिना समय दिएको छ ।