समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने



काठमाडौँ । समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने भएको छ । बिहीबार बसेको परिषद्को बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री तथा परिषद्का अध्यक्ष भगबती चौधरीको अध्यक्षतामा बसेको बैठकले सबै प्रदेशका सेवाग्राहीलाई सेवा प्रवाह गर्ने उद्देश्यले प्रदेश तहमा पनि परिषद्को कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । उक्त कार्यका लागि परिषद्ले सम्भाव्यता अध्ययन टोली खटाएको छ ।


बैठकले परिषद्लाई थप व्यवस्थित गर्न ‘डिजिटलाइजेशन’मा लैजाने निर्णय गरेको छ । मन्त्री चौधरीले परिषद्लाई ‘डिजिटलाइजेनश’मा लैजान यसअघि नै निर्देशन दिएकी थिइन् ।

साथै बैठकले परिषद्का पदाधिकारीहरूको कार्य विभाजन हेरफेर गरेको छ । जसअनुसार अध्यक्ष र सदस्यसचिवमा निहित अधिकारहरू उपाध्यक्ष, कोषाध्यक्ष र बोर्डका सदस्यलाई प्रत्यायोजन गर्ने जनाएको छ ।