व्यक्तिगत लाभका लागि संघकै केही सदस्य नेपाली क्रिकेटलाई बदनाम गराउन लागेः पारस खड्का



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटलाई बदनाम गर्न संघकै केही सदस्यहरू लागिपरेको टिप्पणी गरेका छन् ।

सोमबार सामाजिक संजालमार्फत खड्काले आफ्नो व्यक्तिगत लाभ र प्रयोजन हत्याउने उद्देश्यसहित यसै संघभित्रका केही सदस्यहरूले हरसम्भव प्रयास गरिरहेको कार्य आफैँमा दुःखद भएको बताएका हुन् । उनले यसको कानुनी उपचार खोज्ने पनि बताएका छन् ।


यस्तो छ पारसको धारणा

नेपाल क्रिकेटको अभिभावकीय संस्था रहेको नेपाल क्रिकेट संघ ( क्यान ) ले समग्र नेपाली क्रिकेट र खेलाडीहरुको पक्षमा काम गर्दै आएको छ। पछिल्लो ९ महिना यता नेपाल क्रिकेट भित्र भएका केही सराहनीय कार्यको फलस्वरुप सिंगो, संस्था नेपाल क्रिकेट संघ (क्यान) वर्तमान अवस्थामा सुमार्ग र सफलताको यात्रामा अघि बढिरहेको सर्वविदितै छ।
कयौं चुनौती र कठिनाइहरुलाई चिर्दै नेपाल क्रिकेटको दिगो विकास र विस्तारतर्फ नेपाल क्रिकेट संघ चलिरहेको समय आफैंमा महत्वपूर्ण रहेको छ । यद्यपि यी सबैका बीच, संघका अध्यक्ष, सचिव लगायत सिंगो संस्था र समग्र नेपाली क्रिकेटलाई नै बदनाम गराउंदै आफ्नो व्यक्तिगत लाभ र प्रयोजन हत्याउने उद्देश्य सहित यसै संघ भित्रका केही सदस्यहरुले हरसम्भव प्रयास गरिरहनु भएको कार्य आफैंमा दुखदः हो।

नेपाली क्रिकेटमा खेलाडीको रुपमा मैले देशको झण्डा ओढ्दै यसको गरिमा र मान–प्रतिष्ठालाई थप उचाईमा लग्नका निम्ति गरेको २० वर्षको प्रयासलाई सम्झंदै यस खेलको विकासमा आफूलाई समर्पित गर्ने निधो गरेको हुँ। नेपाललाई क्रिकेटिङ राष्ट्रका रुपमा आत्मनिर्भर बनेको हेर्ने हामी सबैको सपनालाई साकार पार्दै नेपाल क्रिकेट संघको गरिमालाई थप उचाईमा पुर्याउनु मेरो लक्ष्य, जिम्मेवारी र प्रमुख कर्तव्य ठानेको छु – र यसै सपनालाई साकार पार्न संस्थागत रुपबाट केही गरौं भन्ने सोचका साथ खेलाडी जीवनबाट सन्यास लिंदै नेपाल क्रिकेट संघको जिम्मेवारीपूर्वक काम गर्न पाउनु मेरो लागि सवैभन्दा ठूलो अवसर समेत ठानेको छु।

यस बीचमा मैले २० वर्ष देशको लागि खेलाडीका रुपमा कमाएको व्यक्तिगत प्रतिष्ठा मात्र नभई संघको गरिमामाथि नै आँच आउने गरि केही पदीय लाभ लिनका निमित्त अनर्गल र आधारहीन वक्तव्यहरुको बाटो रोजेर नेपाली क्रिकेटमा फैलाउन खोजिएको अराजकताको उचित छानबिन सहित संस्थागत पद्दतिबाट छिट्टै नै कानुनी उपचार समेत खोजिने छ।
साथै, नेपाली क्रिकेटका सम्पूर्ण समर्थकहरुलाई समेत यस प्रकारका व्यक्तिगत राजनीतिक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई यस विश्वकपमा सक्दो हौसला प्रदान गरिदिनुहुन समेत हार्दिक अनुरोध गर्दछु।

विश्वकप जस्तो सर्वोच्च मञ्चमा नेपाली राष्ट्रिय क्रिकेट टोली सहभागी भैरहेको यो समयमा हामी सबैको ध्यान र साँचो समर्थन हाम्रो टोली र खेलाडीहरु प्रति रहनु आवश्यक रहेको छ। यो क्षणमा हामी सबैको मुख्य प्राथमिकता भनेको क्रिकेट हो भन्ने पक्षलाई मनन गर्दै सिंगो विश्वसामु लडिरहेका हाम्रा खेलाडीहरुको मनोवल र हौसला बढाईदिनु हुन र नेपाली टोलीलाई समर्थन गरिदिनुहुन समेत अनुरोध गर्दछु।