वीरगञ्जमा खानेपानीको अभाव हुन थालेपछि लाइन जडान



पर्सा । वीरगञ्ज महानगर क्षेत्रमा चापाकल सुकेर खानेपानीको चर्को अभाव हुन थालेपछि सर्वसाधारणले खानेपानीको लाइन जडान गर्न थालेका छन्।

चालु आर्थिक वर्षको साउनदेखि यही असार ६ गतेसम्मको अवधिमा मात्रै थप दुई हजार आठ सय १० घरधुरीले खानेपानी संस्थान शाखा कार्यालयबाट नयाँ धारा जडान गरेका हुन्। खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जका वितरण प्रमुख सञ्जीवकुमार यादवले सर्वसाधारणको घरआँगन परिसरमा जोडेको चापाकल सुकेसँगै खानेपानी संस्थानको धारा जोड्नेक्रम ह्वात्तै बढेको जानकारी दिए। “पहिला वीरगञ्जवासीले संस्थानको धारा जडानमा खासै रुचि देखाउँदैन्थे तर अहिले घरमा गाडिएको चापाकलमा पानी आउन छाडेसँगै अहिले संस्थानको धारा जडान गर्न भन्दै आउने गरेका छन्”, उनले भने।


वितरण प्रमुख यादवले गत आवको असार मसान्तसम्म संस्थानका खानेपानीका ग्राहक आठ हजार चार सय मात्रै रहेका थिए। तर यो हिउँदेयाममा चर्को खडेरी लागेसँगै खानेपानी सस्थानको लाइन जोड्नेको सङ्ख्या बढिरहेको छ। विसं २०८१ असार ६ गतेसम्म संस्थानका खानेपानीका कूल ग्राहक सङ्ख्या ११ हजार दुई सय १० पुगेका छन्। संस्थानले वीरगञ्ज महानगरभित्र दुई सय ८५ सार्वजनिक धारामार्फत खानेपानी पनि उपलब्ध गराउँदै आइरहेको छ।