म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा वडा कार्यालय भवन निर्माण भएको छ । मालिका गाउँपालिकाले ७६ लाख रुपैयाँको लागतमा ७ कोठे एक तले भवन निर्माण गरेको हो ।
अपाङ्गमैत्री, भूकम्प प्रतिरोधी क्षमता भएको भवन निर्माणका लागि गत मंसिर १८ गते भगवती मालिका कन्ट्रक्सनसँग ७६ लाख ७ लाख ५८८ मा ठेक्का सम्झौता भएको थियो ।
निर्माण कम्पनीका प्रतिनिधि बिजय भट्टचनले असार मसान्तसम्म म्याद भएपनि लक्ष्य अघिनै भवन निर्माण सकिएको जानकारी दिए । एउटा सभाहल, वडा अध्यक्ष, सचिव, वडा सदस्य, प्राविधिक, सहयोगी र भण्डारण कक्ष भएको भवनमा चार वटा शौचालय र शयनकक्ष छन् ।
वडा अध्यक्ष मिम पुनले हस्तान्तरण भएपछि नयाँ भवनबाट सेवा सुरु गर्ने बताए । यसअघि भीम मावि परिसरमा रहेको साविक देविस्थान गाविसको पुरानो र जीर्ण भवनबाट वडा कार्यालय सञ्चालन हुँदै आएको थियो ।
सात वटा वडा रहेको मालिका गाउँपालिकाको यसअघि वडा नम्बर ३ को किटिनिमा भवन निर्माण भएको थियो । वडा नम्बर ६ को कार्यालय तत्कालीन दरवाङ गाविसको भवनबाट सञ्चालन हुने गरेको छ ।
आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको प्रशासकीय, वडा नम्बर १ र ७ को भवन बनाउन २ करोड बजेट बिनियोजन भएको अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । वडा नम्बर २ रुम र वडा नम्बर ४ ओखरबोटको कार्यालय पनि पुरानो भवनबाट सञ्चालन हुँदै आएको छ ।