बेनीस्थित कालिगण्डकी नदी नियन्त्रण आयोजना लक्ष्यअघि नै सम्पन्न



म्याग्दी । सदरमुुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा सञ्चालित कालिगण्डकी नदी नियन्त्रण आयोजना लक्ष्यअघि नै सम्पन्न गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्र्तगत रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले बस्ती संरक्षणका लागि सञ्चालन गरेको आयोजना लक्ष्यभन्दा सात महिनाअघि नै सम्पन्न भएको परियोजनाका सूचना अधिकारी इञ्जिनीयर कृष्ण विश्वकर्माले जानकारी दिए ।


विसं २०८१ मङ्सिर ३ गते सम्पन्न गर्ने लक्ष्यसहित गत पुस महिनामा कम्पोजित प्रविधिको पर्खाल निर्माण सुरू गरिएको थियो ।तीन करोड १८ लाख सात हजार सात सय लागतमा पर्खाल निर्माण गरिएको हो ।

निर्माण कम्पनीका प्रतिनिधि राजकुमार श्रेष्ठले कालिगण्डकीलाई म्याग्दीतर्फ डाईभर्सन गरी लक्ष्यअघि नै कार्यसम्पन्न गरिएको बताए ।

पर्वतको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले समयअगावै निर्माण सम्पन्न हुनुले निर्माण व्यवसायीको इच्छाशक्ति, सरकारी निकायबाट सहजीकरण, समन्वय र समुदायको साथ हुने हो भने ढिलासुस्ती हटाउन सकिने सन्देश प्रवाह भएको बताए ।

परियोजनामार्फत करिब ४८ करोड लागतमा बेनीमा सञ्चालित सातमध्ये चार योजना सम्पन्न भएका र तीन योजना सम्पन्न हुने चरणमा रहेका परियोजना प्रमुख कालीबहादुर शाहीले जानकारी दिए । ९० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएका योजनाको ठेक्का टुङ्गाउने प्रक्रियाअघि बढाएको उनले बताए।

म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनी बजारलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ । परियोजनाले बेनी बजार र आसपासका बस्तीमा कटान नियन्त्रणका लागि गत वर्ष एक अर्ब १९ करोडको विस्तृत परियोजना प्रतिवेदन तयार गरी सम्बन्धित निकायबाट स्वीकृत गराएको जनाएको छ ।