बजेट तुलनात्मक रुपमा सन्तुिलत : महासचिव पोखरेल



काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरेको बजेट तुलनात्मक रुपमा सन्तुलित भएको बताएका छन् ।

उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आज लतिलपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरेको बजेटमाथिको अन्तरसम्वाद कार्यक्रममा उनले बजेटका कमजोर पक्षलाई सुधार गरेर लैजानुपर्ने बताए ।


महासचिव पोखरेलले आन्तरिक र बाह्य ऋणले पुँजीगत खर्च गर्न सके प्रतिफल प्राप्त हुने धारणा राखे । “आन्तरिक राजस्वबाट बजेट प्रणालीलाई सन्तुलन गर्न सकेनौँ भने त्यसले घुमाएर उपभोक्तालाई असर पार्दछ । हामीले लिने आन्तरिक र बाह्य ऋणबाट पुँजीगत खर्च गर्न सक्यो भने त्यसका आधारमा प्रतिफल प्राप्त गर्न सक्दछौँ”, उनले भने ।

उनले बजेट प्रभावकारी रुपमा कार्यान्वयन गर्न सक्ने हो भने प्रतिफल प्राप्त गर्ने ठाउँ रहेको र निर्धारित लक्ष्यभन्दा बढी राजस्व प्राप्त गर्न सकिने धारणा व्यक्त गरे ।

मौद्रिक तरलताको विस्तारसँगै जनताका पैसा बैंकमा जम्मा भइरहेको तर लगानी हुन नसक्दा जनता मारमा परेको बताए । “बैंकमा जति पैसा जम्मा हुने गरेको छ त्यसको तुलनामा खर्च न्यून देखिएको छ । उपभोक्ताले जम्मा गरेको पैसा खर्च हुन नसकेपछि उपभोक्ताको ब्याजदरमा कटौती हुन्छ”, उनले भने ।