फोहरले भरिएका बेलुन प्रक्षेपणपछि उत्तर कोरियासँगको शान्ति सम्झौता रद्द गर्ने दक्षिण कोरियाको घोषणा



सोल । दक्षिण कोरियाले सोमबार उत्तर कोरियासँगको मेलमिलाप सम्झौता निलम्बन गर्ने घोषणा गरेको छ । 

उत्तर कोरियाले फोहरले भरिएका बेलुनहरू दक्षिणतिर पठाएपछि उसलाई दण्डित गर्न मेलमिलाप सम्झौता निलम्बन गर्ने योजना बनाएको दक्षिण कोरियाले बताएको हो । यद्यपि उत्तर कोरियाले आफ्नो बेलुन अभियान रोक्ने बताएको छ । 


उत्तर कोरियाले दक्षिण कोरियाली नागरिक अभियानविरुद्ध आक्रोशित प्रतिक्रिया व्यक्त गर्दै धेरै दिनसम्म दक्षिणतिर फोहर र मलले भरिएका सयौँ बेलुन उडाएको थियो । 

आइतबार दक्षिण कोरियाले जवाफमा ‘असहनीय’ प्रतिशोधात्मक कदम चाल्ने बताएको थियो । यसअघि उत्तर कोरियाले सीमापार बेलुन उडाउन बन्द गर्ने अचानक घोषणा गरेको थियो । 

राष्ट्रपति कार्यालयका अनुसार सोमबार दक्षिण कोरियाली राष्ट्रपतिको राष्ट्रिय सुरक्षा परिषद्ले सन् २०१८ को अन्तर–कोरियाली सम्झौतालाई निलम्बन गर्ने निर्णय गरेको छ । 

उक्त सम्झौताको उद्देश्य दुवै कोरियाबीच आपसी विश्वास पुनःस्थापित नभएसम्म सीमावर्ती शत्रुतालाई कम गर्नु रहेको छ । 

निलम्बनले दक्षिण कोरियालाई उत्तर कोरियासँगको सीमा नजिकै पुनः सैन्य अभ्यास गर्न र उत्तर कोरियाको उक्साहटको प्रभावकारी र तत्काल प्रतिक्रिया दिन अनुमति दिने सुरक्षा परिषद्ले बताएको छ । मङ्गलबार निलम्बनसम्बन्धी प्रस्ताव अनुमोदनका लागि मन्त्रिपरिषदमा प्रस्तुत गरिने बताइएको छ ।

दक्षिण कोरियाको सीमावर्ती लाउडस्पिकरमार्फत प्योङयाङविरोधी प्रचार प्रसार, के–पप गीत र बाहिरका समाचारहरू पुनः सुरु गर्न सम्झौताको निलम्बन आवश्यक रहेको पर्यवेक्षकहरूले बताएका छन् ।  

उनीहरूका अनुसार दुई करोड ६० लाख जनसङ्ख्यामध्ये अधिकांशमाझ विदेशी समाचारमा आधिकारिक पहुँचको अनुमति नभएको र पहिलादेखि नै कठोर रूपमा नियन्त्रित उत्तर कोरियामा यस्तो प्रकारको प्रसारण भइसकेको छ । 

सन् २०१८ को सम्झौता तत्कालीन उदारवादी दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इन र उत्तर कोरियाली नेता किम जोङ उनबीच मेलमिलापको सानो अवधिमा भएको थियो । 

सम्झौताअनुसार कोरियालीहरूलाई एकअर्काविरुद्ध सबै शत्रुतापूर्ण कार्य रोक्न आवश्यक छ । यसमा प्रचार प्रसार र पर्चाबाजी अभियान पनि समावेश छ । तर सम्झौतामा स्पष्ट रूपमा नागरिक पत्रपत्रिकामा पनि प्रतिबन्ध लगाउनुपर्छ भनिएको छैन । 

यसबाट दक्षिण कोरियाली कार्यकर्ताहरूलाई प्योङयाङविरोधी पर्चा, दक्षिण कोरियाली नाटक र विश्व समाचारसहितको युएसबी स्टिक तथा उत्तर कोरियामा अमेरिकी डलर खसाउनका लागि बेलुन उडाउन अनुमति प्राप्त भएको छ । 

यस्तो प्रकारको प्रचार अभियानबाट क्रुद्ध भएर उत्तर कोरियाले यसअघि आउने बेलुनहरूमा गोली चलाएको थियो र उत्तरमा दक्षिण कोरियाले बनाएको रिक्त अन्तर–कोरियाली सम्पर्क कार्यालय ध्वस्त बनाएको थियो । 

सन् २०१८ को सम्झौता यसअघि नै भङ्ग हुने खतरामा छ । गत नोभेम्बरमा उत्तर कोरियाको जासुसी उपग्रह प्रक्षेपणपछि तनाव बढेको छ । यसबाट दुवै कोरियालाई सम्झौता उल्लङ्घन गर्दै कदम चाल्न प्रेरित गर्यो । दक्षिण कोरियाले फ्रन्टलाइन हवाई निगरानी पुनः सुरु गर्यो भने उत्तर कोरियाले सीमा गार्ड पोस्टहरू पुनःस्थापना गर्यो । 

गत मङ्गलबारदेखि दक्षिण कोरियाका विभिन्न भागमा मल, सिगरेटका टुक्रा, कपडाका टुक्रा, रद्दी कागज बोकेका करिब एक हजार उत्तर कोरियाली बेलुन पाइएका छन् । दक्षिण कोरियाली सेनाका अनुसार बेलुनमा कुनै खतरनाक पदार्थ पाइएको छैन ।