‘फोटोग्राफी’बाट मनग्ये कमाउँछन् कैलालीका युवा



भजनी (कैलाली) । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–१ का रोशन नेपाली अहिले कक्षा १० मा अध्ययनरत छन् । अध्ययनसँगसँगै बिदाका दिन उनलाई भ्याइनभ्याई हुन्छ । घर नजिकै रहेको पर्यटकीय क्षेत्र घोडाघोडी तालमा छुट्टीका दिन क्यामेरा लिएर उनी पुग्छन् । ताल घुम्न आउने पर्यटकलाई आकर्षक तस्बिर खिचिदिएवापत उनले मनग्य कमाई गर्दै आएका छन् ।

“काकाको क्यामेराबाट बिदाको दिन पर्यटकको फोटो खिच्ने काम गर्छु । दिनमा दुईदेखि तीन हजारसम्म कमाई हुने गरेको छ”, उनी भन्छन्, “यताबाट कमाएको पैसाले विद्यालय तथा घरखर्च धानेको छ भने नयाँ क्यामेरा किन्न केही पैसा जम्मा गरेको छु । केही पैसा काकालाई पनि दिनुपर्छ ।” उनी घोडाघोडीमात्रै होइन, कर्णाली चिसापानी, टीकापुर उद्यान पनि तस्वीर खिच्ने काम गर्दै पुग्ने गरेको सुनाउँछन् ।


अहिले पर्यटकीय क्षेत्रमा फोटोग्राफी एकदमै राम्रो चलेको छ । केही युवाहरूले त्यो क्षेत्रबाट मनग्ये आम्दानी गर्दै आएका भने कतिपयले व्यवसायको रूपमै फोटोग्राफीलाई बनाएका छन् । दिनप्रतिदिन युवाहरू फोटोग्राफीमा जोडिदै गएका छन् ।

एक–दुईजनाबाट सुरु भएको फोटोग्राफी घोडाघोडीमा अहिले १५ जनाभन्दा बढी युवा जोडिएका छन् । घोडाघोडीमा मात्रै नभई कर्णाली चिसापानी, टीकापुर उद्यानमा पनि ‘फोटोग्राफर‘ थपिँदै गएका छन् । घोडाघोडी नगरपालिकाकै करण क्षेत्री रोजगारीकै सिलसिलामा आठ वर्ष भारत तथा दुई वर्ष दुबई बसे । वैदेशिक रोजगारीबाट एक वर्ष पहिले फर्किएका करणलाई त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन ।

साथीभाइको सँगसँगै फोटोग्राफीमा लागेका करण देशमा सम्भावना नभएरभन्दा पनि त्यसको पहिचान गर्न नसकेर विदेशिनेहरू धेरै रहेको बताउँछन् । “विदेशमा बाध्यताको काम हुन्छ, जसरी पनि गर्नैपर्छ । त्यति गरेपछि मात्रै पैसा देख्न पाइन्छ”, उनी भन्छन्, “कामको प्रवाह नगरेर पैसा कमाउन खोज्दा बिग्रेको छ । आज एक दुई लाखको लगानीले विदेशमा कमाउने पैसा यतै कमाउन सकिँदोरहेछ ।”

सोही ठाउँका हर्क धामी दुई वर्षदेखि घोडाघोडीमा फोटोग्राफीको काम गर्दै आएका छन् । सुरुका दिनमा सोचेजस्तो कमाई नभए पनि पछिल्लो दिनमा अपेक्षाभन्दा राम्रो कमाई भएको बताउँछन् । “फोटोग्राफीबाट कुनै विशेष दिनमा दिनकै १० हजारसम्म कमाई गर्न सकिन्छ”, उनले भने, “महिनामा ६० देखि ७० हजारसम्म कमाई हुन्छ । उनले पैसाकै लागि विदेश जानु नपर्ने भन्दै देशमै थुप्रै सम्भावना रहेको बताए ।

फोटोग्राफीसँगै घोडाघोडीमा पर्यटकलाई लक्षित गरेर घोडा व्यवसाय पनि फस्टाएको छ । घोडाघोडी नगरपालिका वडा नं ४ का वसन्त शाहीले कालिकोटबाट दुईवटा घोडा ल्याएर घोडाघोडीमा पर्यटक घुमाउने काम गर्दै आएका छन् ।

“घोडाघोडीको नामले परिचित क्षेत्रमा घोडा आवश्यक छ भन्ने लागेर कालिकोटबाट घोडा ल्याएर पर्यटकलाई घुमाउने काम गर्दै आएको छु”, शाहीले भने, “पर्यटकको रोजाइमा घोडा परेका छन् । जसबाट राम्रो आम्दानी पनि भइरहेको छ ।” उनले घोडा चढेबापत २५ देखि एक सयसम्म लिने गरेका छन् । अब कर्णाली चिसापानी र टीकापुर उद्यानमा पनि पर्यटकलाई लक्षित गर्दै घोडा राख्ने तयारीमा रहेको शाहीले बताए ।

पछिल्लो समय पर्यटकीय क्षेत्रमा फोटोग्राफी र सांस्कृतिक पहिचान झल्काउने पोशाकको माग निकै बढेको छ । कैयौँ आन्तरिक पर्यटक पहिचान झल्काउने पोशाक लगाएर तस्बिर खिच्नकै लागि पनि त्यस क्षेत्रमा पुग्ने गरेका छन् । एउटा तस्बिरको फोटोग्राफरले २० लिने गर्छन् ।

कुनै पोशाक लगाएको रु एक सय लाग्छ । “म नेपाली पोशाक लगाएर फोटो खिच्नकै लागि साथीहरूसँग घोडाघोडी आएकी हुँ”, टीकापुरकी सुहाना क्षेत्रीले भने, “साथीहरूले यसअघि नै आएर खिचेको फोटो राम्रो लागेपछि म पनि आएकी हुँ । मजस्ता कैयौँ मान्छे सुन्दर तस्बिर खिच्न यहाँसम्म पुग्छन् ।”

घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्च नेपाल र घोडाघोडी नगरपालिकाको संयुक्त संरक्षणमा घोडाघोडी ताल रहेको छ । त्यहाँ १० प्रवेश शुल्क लाग्छ । दैनिक एक हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक तालको अवलोकनका लागि पुग्ने गर्छन् । त्यहाँबाट भएको आम्दानी मञ्च र नगरपालिकाले संयुक्त रूपमा लिने गरेको मञ्चका कर्मचारी दीपक शाह बताउँछन् । उनका अनुसार वार्षिक १० लाखभन्दा बढी आम्दानी हुने गरेको छ । पूर्वपश्चिम राजमार्गसँगै रहेको ताल पर्यटकका लागि मात्रै नभई चराचुरुङ्गीका लागि अझ विशेष छ ।