प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको बारेमा संसद्लाई जानकारी गराउन सांसद खतिवडाको माग



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणको बारेमा सदनलाई जानकारी गराउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद खतिवडाले प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको वान टु वान भेटवार्तामा एकजना नौलो मान्छेपनि देखिएको भन्दै प्रश्न उठाएका छन् ।

उनले भने,‘प्रधानमन्त्रीज्यू, केही दिन पहिले भारत जानुभयो, भारत भ्रमण गरेर आउनुभयो । संसद् चलिरहेको बेलामा प्रधानमन्त्रीले संसद्मा आफूले गरेको भ्रमणबारे जानकारी दिनुपर्छ कि पर्दैन् ? उहाँले भारतका प्रधानमन्त्रीसँग वान टु वान गरेको भेटवार्तामा एक जना नौलो मान्छे, प्रोटोकलभन्दा बाहिरको मान्छे राखेर बस्नुभएको देखियो । यसबारेमा पनि हामी प्रधानमन्त्रीको जवाफ चाहन्छौं ।’


उनले निजामती कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको विदेशी नागरिकता र आवासीय अनुमतिको कुराहरु आएको भन्दै त्यसमा पनि सरकारले को को व्यक्ति त्यस्ता छन् भनेर छिटो श्वेपत्र जारी गर्नुपर्नेमा जोड दिए ।