नौ सय मेगावाट क्षमताको अरुण तेस्रोको ‘ब्रेक थ्रु’ आज



सङ्खुवासभा । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको आज ब्रेक थ्रु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज एक कार्यक्रमकाबीच जलविद्युत आयोजनाको ब्रेक थ्रु गर्ने कार्यक्रम रहेको छ ।

संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको काम ७० प्रतिशत बढी काम सकिएको छ । अरुण तेस्रो जलविद्युत् आयोजनाको भारतीय सतलज कम्पनी (एसजेबिएन)ले निर्माण गरिरहेको हो। प्रधानमन्त्री प्रचण्डले अरुण तेस्रोको ड्यामसाइट र पावारहाउसको हेलिकोप्टरबाटै अनुगमनसमेत गर्ने कार्यक्रम छ ।


अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङ मकालु– ५ फ्याक्सिन्दाको आमराङदेखि चिचिला गाउँपालिका– ३ दिदिङ पुखुवाको पावरहाउसमा निस्कने सुरुङको ब्रेक थ्रु गरिने भएको हो ।

फ्याक्सिन्दादेखि पुखुवा निस्कने मुख्य सुरुङको लम्बाइ ११.८३७ किलोमिटर छ । सो सुरुङ छिचोलिएकाले ब्रेक थ्रु गरिने भएको हो । प्रधानमन्त्री प्रचण्ड आज बिहान १० बजे आमराङमा अरुण तेस्रो सुरुङको ब्रेक थ्रु गरी हेलिकोप्टरमार्फत पावरहाउस स्थल चिचिला गाउँपालिकाको पुखुवाको कार्यक्रममा सहभागी हुने कार्यक्रमम रहेको छ ।

परियोजनामा कुनै अवरोध नभएमा अबको करिब एक वर्षमा सम्पूर्ण निर्माण सम्पन्न हुने बताइएको छ । परियोजना सम्पन्न भइसकेपछि मात्र स्थानीयले शेयर पाउने परियोजना विकास सम्झौता (पिडिए) मा व्यवस्था गरिएको छ ।

परियोजनाले व्यावसायिक उत्पादन गर्न थालेको एक वर्षभित्र स्थानीयलाई शेयर बितरण गर्ने पिडिएमा उल्लेख गरिएको छ । करिब एक खर्ब चार अर्ब लागत अनुमान गरिएको परियोजनाबाट नेपाललाई २१ प्रतिशत निःशुल्क विद्युत प्राप्त हुने छ भने विभिन्न शीर्षकमा तीन खर्ब ४८ रुपियाँ आर्थिक लाभ मिल्ने छ ।

विद्युत उत्पादनपछि प्रत्यक्ष प्रभावित परिवारले प्रतिमहिना ३० युनिटसम्म विद्युत निःशुल्क प्राप्त गर्ने छन् । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने पिडिएमा उल्लेख छ । अरुण तेस्रो परियोजनामा नेपाली भारतिय सहित झन्डै चार हजार कामदार कार्यरत छन् ।