काठमाडौँ । जर्मनी र स्वीजरल्याण्ड जारी युरोकपको नकआउट चरणमा पुगेका छन् ।
गएराती सम्पन्न समुह ए अन्तर्गतको समुह चरणको अन्तिम खेलमा १-१ गोलको बराबरी खेल्दै जर्मनी र स्वीजरल्याण्ड प्रतियोगिताको नक आउट चरणमा पुगेका हुन् ।
यस खेलमा निकलस फुलक्रुंगले ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै जर्मनीलाई हारबाट बचाएका थिए । यस अघि स्वीजरल्याण्डका लागि खेलको २८औं मिनेटमा डान एन्डोएले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।
यो बराबरीपछि जर्मनीको समुह ए मा ३ खेलमा ७ अंकसहित शिर्ष स्थानमा रहेको नक आउट चरणमा पुगेको छ भने स्वीजरल्याण्ड ३ खेलमा ५ अंकसहित समुहमा दोस्रो हुदै नकआउट चरणमा पुगेको छ ।
त्यस्तै समुह ए बाट हंगेरीले स्कटल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुलेको छ र समुहमा तेस्रो भएको छ । हंगेरीको पनि नकआउट चरणमा छानिने सम्भावना रहेको छ । सबै ६ समुहका तेस्रो स्थानमा रहने शिर्ष चार देश नक आउट चरणमा छानिने हुनाले यसको टुंगो भने समुह चरणका सबै खेल पछि लाग्ने छ ।
त्यस्तै ३ खेलमा एक अंक हासिल गरेको स्कटल्याण्ड भने युरोकपबाट बाहिरिएको छ ।