चितवन । जिल्लाको इच्छाकामना गाउँपालिकाले चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण गरेको छ । ‘चिउरी र चमेरो संरक्षण’ कार्यक्रमअन्तर्गत शुक्रबार इच्छाकामना–६ कालिखोलाका चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले चिउरी चमेरो संरक्षण कार्यक्रमअन्तर्गत चेपाङ समुदायको बसोबास रहेको कालिखोलामा पाँच सय चिउरीका बिरुवा रोपिएको बताए । उनले यस कार्यक्रमले चेपाङ समुदायको लागि आयअर्जनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । चिउरीको बिरुवा रोप्न समुदायका युवा सक्रियरुपमा सहभागी भएका उनले बताए ।
इच्छाकामना गाउँपालिका कृषि शाखाका अधिकृत आशिष त्रिपाठीले कालिखोलामा चिउरीको सम्भावित क्षेत्र अध्ययन गरी चेपाङ समुदायको बसोबास रहेको ठाउँ पहिचान भएसँगै बिरुवा हस्तान्तरण गरिएको जानकारी दिए ।
यसअघि उक्त कार्यक्रमअन्तर्गत इच्छाकामना–१ ,२ र ६ का विभिन्न छ स्थानमा चिउरी र चमेरो संरक्षण गर्नुपर्ने विषयमा पैरवी, जनचेतना अभिवृद्धि गराउनेलगायत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको त्रिपाठीले बताए । उनका अनुसार यसपटक पनि चेपाङ समुदायबाट माग भएअनुसार बिरुवा वितरण गरिएको हो ।
वडा नं ६ का वडाध्यक्ष लक्ष्मण चेपाङले यस कार्यक्रमले चेपाङ समुदायको आर्थिक तथा सामाजिक क्षेत्रको उत्थान गर्नुका साथै परम्परादेखि जोडिएको चेपाङ चिउरी र चमेरोबीचको पारिस्थितिक प्रणाली सुदृढ पार्न सहयोग पु¥याउने बताउनुभयो । चेपाङ समुदायको आयआर्जन वृद्धिसम्बन्धी विभिन्न तालिम, सीप, कृषि औजार, बीउलगायत उपलब्ध गराउँदै आइएको उनले जानकारी दिए ।
सो अवसरमा गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङ, जनप्रतिनिधिलगायतले केही चिउरीका बोटहरू रोपेका थिए ।