गाँजा खेतीका लागि एक महिनाभित्रै नियमावली बनाउने गृहमन्त्री लामिछानेको प्रतिवद्धता



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि एक महिनाभित्रै नियमावली बन्ने बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाअन्तर्गन कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकलाई सम्बोधन गर्दै उनले गाँजा खेतीका बारेमा प्रशस्त छलफल भइसकेको र अब कुनै दुविधामा पर्न आवश्यक नरहेको बताए । उनले औषधिजन्य प्रयोग र व्यवसाय गर्नका लागि गृह मन्त्रालयले एक महिनाभित्रै नियमावली बनाउने बताए ।

‘मलाई चाहीँ के लाग्छ भने पर्याप्त छलफल भएको र अध्ययन भएको अवस्थामा अब हामीमा दुविधा राख्नुपर्ने अवस्था मैले देखेको छैन । गृहमन्त्रीको हैसियतले म यो सम्मानित समितिलाई यो भन्न चाहन्छु, यसको औषधिजन्य प्रयोग र व्यवसाय गर्नका लागि, (उपभोग गर्ने हिसाबले होईन) त्यस प्रयोजनका लागि गृहमन्त्रालयले छिट्टै नै नियमावली बनाउँछ,’– उनले भने ।


लागूऔषध नियन्त्रण ऐन–२०३३ को दफा ४ (१ ) रहेको व्यवस्था ‘पश्चिमी पहाडी भेगमा प्राकृतिक रुपमा आफै उम्रने जङ्गली गाँजाको बोटबाट तोकिएको समयसम्मको लागि चरेस उत्पादन गर्न, त्यस्तो चरेस संग्रह गर्न राख्ने र खरीद बिक्री गर्ने सम्बन्धमा नेपाल सरकारले नियम बनाई व्यवस्था गर्न सक्नेछ र सो अनुसार अनुमतिपत्र प्राप्त गरी कसैले कुनै काम गर्दा यस दफा अन्तर्गत अपराध गरेको मानिने छैन’ लाई समितिलाई जानकारी गराउँदै उनले अनुसन्धान गर्ने प्रयोजनका लागि क्याविनेटबाट निर्णय गर्न र नियमावली बनाउने सकिने बताए ।