काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) लाई अमेरिका र वेस्ट इन्डिजमा जारी विश्व कप पुरुष टी–२० क्रिकेटमा नेपाली राष्ट्रिय टोलीको विश्वकप प्रदर्शनमा पूर्णरुपले केन्द्रित गराउन आग्रह गरेको छ ।
राखेपले क्यानलाई पत्र पठाउँदै प्रतियोगिताको सम्मुख आयोजना भएका ‘मिट एन्ड ग्रिट’ कार्यक्रममा राष्ट्रिय टिमका खेलाडीहरुलाई सहभागी नगराउन आग्रह गरेको हो ।
‘मिट एन्ड ग्रिट’ कार्यक्रममा सहभागी गराउँदा टिमको व्यवसायिक स्तरको विषयमा चासोका सन्दर्भमा राखेपको गम्भीर ध्याणाकर्षण भएको जनाएको छ । राखेपले अन्य व्यक्ति तथा संस्थाले आयोजना गर्ने कुनैपनि खालका कार्यक्रममा सहभागी नहुन र नगराउन तथा आफ्नो खेलमा पूर्णरुपमा केन्द्रित भइ आवश्यक कार्यका लागि क्यानलाई निर्देशन दिएको छ ।
नेपाली क्रिकेटको इतिहासमा दोश्रो पटक सहभागी भएको नेपाली क्रिकेट टिमलाई जारी प्रतियोगितामा उच्च खेल प्रदर्शनका लागि राखेपले शुभकामना व्यक्त गरेको छ ।
क्रिकेट खेलाडी र क्यानका पदाधिकारी यस्ता कार्यक्रममा सहभागी भएका भन्दै आलोचना भएपछि राखेपले क्यानको ध्यानाकर्षण गराएको हो ।