बीबीसी । चीनले अहिलेसम्म कोही पनि नपुगेको चन्द्रमाको सुदूर क्षेत्रमा आफ्नो अन्तरिक्षयान अवतरण गरेको जनाएको छ । बेइजिङको स्थानीय समय अनुसार चाङ्ग–अ सिक्स दक्षिणी ध्रुवको एइकेन बेसिनमा आइतबार बिहान ६ बजेर २३ मिनेटमा पुगेको चाइना नेशनल स्पेश एडमिनिस्ट्रेशन (सीएनएसए)ले जनाएको छ ।
मे ३ मा प्रक्षेपण गरिएको उक्त चन्द्र मिशनले इतिहासमा पहिलो पटक उक्त क्षेत्रबाट बहुमूल्य चट्टान र माटो सङ्कलन गर्ने उद्देश्य राखेको छ । उक्त अनुसन्धानले चन्द्रमाको ‘क्रेटर’ अर्थात् विशाल खाडलमा रहेका पुराना चट्टानहरू सङ्कलन गर्न सक्ने ठानिएको छ ।
चन्द्रमाको टाढाको क्षेत्रमा अन्तरिक्षयान पुगेपछि सञ्चार कायम गर्न जटिल ठानिने भएकाले उक्त अवतरणलाई जोखिमपूर्ण ठानिएको थियो । सन् २०१९ मा आफ्नो चाङ्ग–अ–फोर अवतरण गरेर यस्तो उपलब्धि हासिल गर्ने चीन एक मात्र देश हो ।
वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको सो यानले अवतरण गर्ने समयको प्रतीक्षा गर्दै चन्द्रमाको कक्षमा परिक्रमा गरिरहेको थियो । त्यसपछि उक्त मिसनको ल्यान्डरले आफूलाई अर्बिटरबाट अलग गर्दै पृथ्वीबाट स्थायी रूपमा नै अर्कोतर्फ फर्किएको भागमा अवतरण गर्यो ।
अवतरणको समयमा एउटा स्वायत्त भिजुअल प्रणालीलाई परिचालन गरिएको थियो जसले स्वतः कुनै पनि अवरोधहरूलाई पहिचान गर्न सक्थ्यो । त्यसबाहेक एउटा हल्का किसिमको क्यामेरा पनि जडान गरिएको थियो जसले चन्द्रमाको सतहको उज्यालो र अन्धकार अवस्थालाई हेरेर तुलनात्मक रूपमा सुरक्षित स्थान पहिचान गरेको सीएनएसएलाई उदृत गर्दै सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।
ल्यान्डर सुरक्षित अवतरण गर्ने स्थान भन्दा १०० मिटरमाथि रहेको बेला उसले एउटा थ्री डी लेजर स्क्यानर प्रयोग गरेको थियो र त्यसपछि बिस्तारै तल अवतरण गरेको थियो । चिनियाँ सरकारी सञ्चारमाध्यमले उक्त सफल अवतरणलाई ‘ऐतिहासिक क्षण’ भनेको छ ।