कोशी सरकार गठनविरुद्धको रिट हेर्दाहेर्दैमा, अर्को पेशी असार ९ गते



काठमाडौं । कोशी सरकार गठनविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ । बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासमा उक्त रिटमा सुनुवाइ भएको थियो ।

सर्वोच्चका न्यायाधीशत्रय कुमार रेग्मी,नहकुल सुवेदी र अव्दुल अजीम मुसलमानको पूर्ण इजलासमा पेशी तोकिएको उक्त मुद्दामा सुनुवाइ नसकिएपनि हेर्दाहेर्दैमा राखेर अर्को पेशी असार ९ गतेका लागि तोकिएको हो ।


कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । गत वैशाख २६ गते प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनको आव्हान गरेपछि निवर्तमान मुख्यमन्त्री कार्की सर्वोच्च गएका हुन् ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले उक्त व्यवस्था सरकार बनाउने अन्तिम विकल्प भएको र आफूले यसअघि नै विश्वासको मत लिइसकेको कारण २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन र समर्थन फिर्ता लिनसमेत नमिल्ने दाबी गर्दै आएका छन् ।