कोशी प्रदेशसभा : नीति तथा कार्यक्रम माथि छलफल प्रारम्भ



विराटनगर । कोशी प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रममाथि आजदेखि छलफल प्रारम्भ भएको छ । कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ३८(१) बमोजिम आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेश प्रमुख परशुराम खापुङले सोमबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रमले समग्रमा प्रदेशलाई सुखी र समुन्नत बनाउन मद्दत गर्ने छलफलमा सहभागी प्रदेशसभा सदस्यहरुले बताएका छन् । कोशी प्रदेशको समृद्धिका लागि आवश्यक आधार तयार गरी ल्याएको नीति तथा कार्यक्रमले सिँचाइ, कृषि, पर्यटन, धार्मिकस्थल, पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण काम गर्ने उनीहरुको भनाइ थियो ।


प्रदेशसभा सदस्यहरु तिलकुमार मेन्याङ्बो, रेवतीरमण भण्डारी, जीवन आचार्य, उमाकान्त गौतम, खड्गबहादुर बस्नेत, मीना श्रेष्ठ, गीतादेवी रेग्मी, किशोरचन्द्र दुलाल, होमबहादुर थापा, गोम्बू शेर्पा, राजन किराँती र प्रेमराज थाम्साङलगायतले छलफलमा आफ्ना धारणा राखेका थिए ।

शून्य समयमा कोशी प्रदेशसभा सदस्य गीतारानी महतो, कमला दर्नाल, इस्राईल मन्सुरी, सबिना बजगाईं, डोल्मा तामाङ, गोपाल विश्वकर्मा, शोभा चेम्जोङ, तारादेवी ढकाल, रमेशकुमार बस्नेत र रामदेव यादवले मुलुकको समसायिक विषयमा धारणा राखेका थिए ।