कोपामा अमेरिकाको विजयी सुरुआत



काठमाडौं । कोपा अमेरिका फुटबलमा घरेलु टोली अमेरिकाले विजयी सुरुआत गरेको छ।

समूह सीको पहिलो खेलमा आज अमेरिकाले बोलिभियालाई २–० गोल अन्तरले पराजित गरेको हो। टेक्सासमा भएको खेलमा अमेरिकालाई जिताउन क्रिष्टियन पुलिसिस र फ्लोरिन बालोगुनले एक एक गोल गरे।


खेल सुरु भएको तेस्रो मिनेटमै टिमोथी वेहको पासमा पुलिसिसले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए।

४४ औं मिनेटमा पुलिसिसको पासमा फ्लोरिनले थप १ गोल गरेपछि अमेरिका पहिलो हाफमै २–० को सहज अवस्थामा पुगेको थियो। सोही अग्रता अन्तिम समयसम्म जोगाउँदै अमेरिकाले समूह सीको पहिलो खेलमा जित निकाल्न सफल भयो।

जितसँगै अमेरिका ३ अंकका साथ शीर्ष स्थानमा रहेको छ। यो समूहमा उरुग्वे र पानामा पनि रहेका छन्। उरुग्वे र पानामको खेल पनि आज हुँदै छ।