उत्तर कोरियाको भ्रमणका लागि पुटिनको तयारीलाई नजिकबाट नियालिरहेको दक्षिण कोरियाको भनाइ

North Korea flag illustrated with gradient mesh tool.


दक्षिण कोरियाले बिहीबार आफ्नो कट्टर शत्रु उत्तर कोरियाको सम्भावित भ्रमणका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको तयारीलाई ‘नजिकबाट नियालिरहेको’ बताएको छ ।

उत्तर कोरिया र रुस दुवै अन्तर्राष्ट्रिय प्रतिबन्धको अधीनमा छन् र सन् २०२२ मा युक्रेनमा आक्रमणपछि यी दुई मुलुकबीचको सम्बन्ध गहिरो भएको छ ।


उत्तर कोरियामाथि युक्रेनमा युद्धका लागि रुसलाई हतियार उपलब्ध गराएको आरोप लगाइएको छ । क्रेमलिनले ‘अनावश्यक’ भन्दै उक्त आरोपको खण्डन गरेको छ ।

पुटिनको अपेक्षित भ्रमणका लागि कुनै पनि पक्षले भ्रमण कार्यक्रमको पुष्टि गरेको छैन ।

“सरकारले राष्ट्रपति पुटिनको उत्तर कोरियाको भ्रमणको तयारीलाई नजिकबाट नियालिरहेको छ”, दक्षिण कोरियाको विदेश मन्त्रालयले भनेको छ, “रुस र उत्तर कोरियाबीचको आदान–प्रदान तथा सहयोग सुरक्षा परिषद्को प्रस्तावको पालना गर्दै कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरतामा योगदान दिने तरिकाले हुनुपर्छ ।”

क्रेमलिने गत महिना रुसी सरकारी मिडियालाई भ्रमणको ‘तयारी भइरहेको’ बताएको थियो ।

गत महिना पेन्टागतले एक रिपोर्टमा भग्नावशेषको विश्लेषण गर्दै रुसले उत्तर कोरियाली ब्यालेस्टिक क्षेप्यास्त्रको प्रयोग गरिरहेको बताएको थियो ।

पुटिनको अपेक्षित भ्रमणका क्रममा उत्तर कोरियाले रुसबाट खाद्यान्न र ऊर्जा आयातको बदलामा युक्रेनमा प्रयोग हुने थप युद्ध सामग्री निर्यात गर्न दबाब दिने विश्लेषकहरूले बताएका छन् ।

यसअघि बिहीबार दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका वरिष्ठ अधिकारीले पुटिनको ‘केही दिनमा’ उत्तर कोरियाको भ्रमण हुने अपेक्षा गरिएको बताएका थिए । अधिकारीका अनुसार सोलमा दक्षिण कोरियाली र चिनियाँ अधिकारीहरूबीच हुने भेटघाटको समयमै पुटिनको उत्तर कोरियाको भ्रमण हुनेछ ।

दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीका अनुसार उक्त बैठक आगामी साताको सुरुमा हुने भएको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाका नेता किम जोङ उनले बुधबार रुससँगको आफ्नो मुलुकको सम्बन्धको प्रशंसा गरेका थिए ।

बुधबार आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) मा पुटिनलाई दिइएको सन्देशमा किमले लेखेका छन्, “उत्तर कोरिया र रुसबीचको सम्बन्ध कमरेड्स–इन–आर्म्सको अटुट सम्बन्धमा विकसित भएको छ ।”

केसिएनएका अनुसार किमले दुई मुलुकबीचको ‘सार्थक’ सम्बन्धले नयाँ युगमा ‘अनन्त कोसेढुङ्गालाई थप बलियो बनाउने’ बताएका छन् ।

किमले गत वर्ष रुसमा पुटिनसँग भेट गर्न दुर्लभ विदेश भ्रमण गर्नुभएको थियो । सो बेला उहाँले मस्कोसँग उत्तर कोरियाको सम्बन्ध आफ्नो मुलुकको ‘एक नम्बर प्राथमिकता’ रहेको बताएका थिए ।