आजको मौसम : कतै हावाहुरी, कतै चट्याङ्गसहित वर्षा



काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। आज लुम्बिनी प्रदेशको एक-दुई स्थानमा हावा हुरीको सम्भावना रहेको छ ।


त्यस्तै, आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही कोशी, मधेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।