आइसिसी टि–२० विश्वकप : नेपाल समूहमा रहेको दक्षिण अफ्रिकाकाको लगातार तेस्रो जीत



काठमाडौं । आइसिसी टि–२० विश्वकपमा बंगलादेश दक्षिण अफ्रिकासँग पराजित भएको छ । सोमबार राति भएको समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिका बंगलादेशविरूद्ध चार रनको रोमाञ्चक जित निकालेको हो ।

नेपाल समूहमा रहेको दक्षिण अफ्रिकाले आइसीसी टि–२० विश्वकपमा लगातार तेस्रो जित दर्ता गरेको छ । दक्षिण अफ्रिकाले दिएको ११४ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशले ७ विकेटको क्षतिमा १०९ रन मात्र बनाउन सक्यो ।


बंगलादेशका लागि टोहिड हृदोयले सर्वाधिक ३७ रन बनाए । उनले ३४ बलमा २ चौका र २ छक्का प्रहार गरे । महमुदउल्लाहले २७ बलमा २ चौका प्रहार गरी २० रन जोडे । कप्तान नजमुल हुसेन शान्तोले २३ बलमा १ छक्का प्रहार गरी १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजले ३ तथा कगिशो रबाडा र एनरिच नोर्त्जेले २–२ विकेट लिए ।

त्यसअघि न्युयोर्कमा टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११३ रन जोडेको थियो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ४४ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ४६ रन जोडे । डेविड मिलरले ३८ बलमा २९ रन बनाए भने ओपनर क्विन्टन डीककले ११ बलमा १८ रन जोडे । बंगलादेशका लागि तान्जिम सकिबले सर्वाधिक ३ विकेट लिए भने तास्किन अहमदले २ तथा रिशाद होस्सेनले १ विकेट लिए ।

जित पछि समूह ‘डी’ मा दक्षिण अफ्रिकाको तीन खेलमा ६ अंक भएको छ । बंगलादेश र नेदरल्यान्ड्सको समान २–२ खेलमा समान २–२ अंक रहेको छ भने नेपाल र श्रीलंका अंकविहिन छन् । नेपालले एक खेल खेलेको छ भने श्रीलंकाले दुई खेल खेलिसकेको छ ।