चितवन । चितवनको खैरहनी नगरपालिकाले जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई अनुदान दिने भएको छ। चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार नगरपालिकाले कृषकलाई अनुदान दिन लागेको हो।
नगरपालिकामा रहेका बाँझो जमिनको उपयोग गरी कृषि उपजको उत्पादन र उत्पादकत्व बढाउन, विपन्न परिवारलाई आत्मनिर्भर बनाउन यो कार्यक्रम सञ्चालन गरिएको खैरहनी नगरपालिकाका मेयर शशिकुमार खनियाले बताए।
‘नगरपालिकालाई कृषि उपजमा आत्मनिर्भर मात्रै नभएर मुख्य व्यवसायका रूपमा विस्तार गर्दै विपन्न किसानको जीवनयापन सहज बनाउन यस्तो कार्यक्रम सञ्चालन गरिएको हो,’ मेयर खनियाले भने।
जग्गा नभएका, दुई कट्ठाभन्दा कम जग्गा भएका र आम्दानीको अन्य स्रोत नभएका किसान पहिचान गरी अनुदान प्रदान गरिएको खनियाले बताए।
नगरपालिकाबाट जग्गा भाडाका लागि अनुदान पाएका अधिकांश किसानले खाद्य बाली लगाउने बताएका छन्।
‘बिहान बेलुकाको छाक टार्न समस्या छ। मौसमअनुसार धान, तोरी लगायत अन्नबाली लगाउने योजना बनाएको छु,’ जग्गा भाडाको अनुदान पाएका सन्तोषबहादुर परियारले भने।
दस कट्ठा जग्गा भाडाका लागि अनुदान पाएकी सुखिया महतोले परम्परागत खेती गरेर आम्दानीको स्रोत बनाउने बताइन्।
‘खेती गर्ने जग्गा नभएर सबै कुरा किनेर खानुपर्ने अवस्था थियो। अब आफै फलाएर जीवन धान्ने योजना छ,’ उनले भनिन्।
खैरहनीमा विपन्न, मध्यम र व्यावसायिक गरी तीन प्रकारका किसान छन्। मेयर खनियाले विपन्नलाई कृषि पेसामा आवद्ध गराउने, मध्यम स्तरका किसानलाई उकास्ने र व्यावसायिक किसानलाई अनुदान उपलब्ध गराएर उत्पादन बढाउने गरी काम गरिरहेको बताए।
उपमेयर कविता उप्रेतीले विपन्न तथा भूमिहीन किसानलाई कृषि उत्पादनसँग जोड्न जमिन भाडामा अनुदान कार्यक्रम ल्याइएको बताइन्। यसलाई क्रमशः विस्तार गर्दै लैजाने योजना रहेको उनले बताइन्।
कार्यक्रम कार्यान्वयनका लागि यस वर्ष ८ हेक्टर जमिनमा खेती गर्न सम्झौता भएको छ। यसबाट थप वार्षिक २१० टन तरकारी र १८.५ टन खाद्यान्न उत्पादन हुने अपेक्षा गरेको नगरपालिकाका कृषि विकास अधिकृत गौरव न्यौपानेले जानकारी दिए।
यस कार्यक्रममा हालसम्म ३१ जना कृषकले २.५ कट्ठादेखि १० कट्ठासम्म जग्गा भाडा अनुदानका लागि सम्झौता गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले बताए। भएको र छनौट भएका कृषकले प्रति कट्ठा प्रति महिना दुई हजार रूपैयाँको दरले ३ वर्षसम्म निरन्तर अनुदान प्राप्त गर्ने उनले बताए।