हमासका एक अधिकारीले बिहीबार इजराइलमाथि प्यालेस्टिनी क्षेत्रमा सात महिनादेखि जारी युद्धमा युद्धविराम खोज्ने वार्तालाई रोक्न गाजाको सबैभन्दा दक्षिणी सहर रफाहमा आक्रमण गरेको आरोप लगाएका छन् । इजिप्टको सीमा नजिकै प्यालेस्टिनीहरूले आश्रय लिएको रफाहमा ट्याङ्कहरू पठाएर इजराइलले अन्तर्राष्ट्रिय आपत्तिहरूको अवहेलना गरेको छ ।
उसले मङ्गलबार बिहान उक्त क्रसिङलाई कब्जामा लिएको छ । यो घेरामा परेको गाजामा सहायताका लागि मुख्य प्रवेश विन्दु हो । “रफाह र यसको सीमा नाकामा भएको सैन्य कारबाहीले मध्यस्थकर्ताहरूको प्रयासमा बाधा पुर्याउने उद्देश्य राखेको छ”, इज्जत अल–रिस्कले विज्ञप्तिमा भने, “यद्यपि हमास अहिले पनि मध्यस्थकर्ताहरूद्वारा प्रस्तुत (युद्धविराम) प्रस्तावलाई स्वीकार गर्न प्रतिबद्ध छ ।” उनले कायरोमा वार्ताका लागि पठाइएको हमासको प्रतिनिधिमण्डल प्रस्थान गरी कतारको राजधानी दोहा फर्किएको बताए ।
इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाले महिनौँदेखि इजराइल र हमासबीचको सम्झौतामा मध्यस्थता गर्ने प्रयास गरिरहेका छन् । इजिप्टको गुप्तचरसँग सम्बन्धित अल–काहेरा न्युजले लामो समयदेखि रोकिएको युद्धविराम सम्झौतालाई बलियो बनाउने उद्देश्यले कतार, अमेरिका र हमासका प्रतिनिधिमण्डलहरूको वार्ता बिहीबार कायरोमा जारी रहने बताएको छ ।