काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्क भैंसेपाटीमा एक समूहले आक्रमण गरेको छ । शुक्रबार दिउँसो बा ४ ख १०८५ नम्बरको बसमा आएको समूहले फुड्स पार्कमा कार्यरत कर्मचारीमाथि पनि हातपात गर्दै आक्रमण गरेको फुड्सका प्रवक्ता मधुसूदन पौड्यालले जानकारी दिए । फुड्स पार्कमा आउनासाथ उनीहरुले नेपाल सरकार मुर्दावाद जस्ता नारा लगाएका थिए ।
चौधरी ग्रुपका व्यवस्थापकहरुप्रति पनि अभद्र व्यवहार गरेको विज्ञप्तिमा जनाइएको छ । उनले भनेका छन्, ‘त्यहाँ कार्यरत महिला कर्मचारीमाथिसमेत हातपात हुन थालेपछि फुड्स पार्कमा कार्यरत महिला कर्मचारीहरु प्रतिकारमा उत्रिए जसका कारण आक्रमणकारीहरु त्यहाँबाट पछि हटेका थिए । त्यसलगत्तै आएको प्रहरीले आक्रमण गर्न आएका मानिसहरुलाई गिरफ्तार गरेको जानकारी प्राप्त भएको छ ।’
यस घटनालाई लिएर चौधरी ग्रुपले भ्रत्र्सना गरेको छ । पौड्यालले जारी गरेको विज्ञप्तिमा दिनदहाडै भएको आक्रमणको ध्यानाकर्षण गराउँदै कानुनी कारबाहीका लागि सरकारसँग अनुरोध गरिएको छ ।
१७ जना महिला र पाँच जना पुरुषसहित बस चालकलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई जावलाखेलमा राखिएको छ । नियन्त्रणमा लिएर सोधपुछ भइरहेको ललितपुर प्रहरीका एसपी नरेश सुवेदीले जानकारी दिएका छन् ।