काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बजेट प्रस्तुतिको पूर्व सन्ध्यामा देशको सरकारी र सार्वजनिक विमर्शहरु उही पूरानै कर्मकाण्डी प्रकृतिका हुनु विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन् । आफ्नो सामाजिक सञ्जालमार्फत भट्टराईले धारणा सार्वजनिक गर्ने क्रममा यस्तो टिप्पणी गरेका हुन् । उनले कुर्सीको दिनगन्तीमा रमाउनेहरुबाट राम्रो कुराको आशा गर्नु गलत हुने बताएका छन् । उनले लेखेका छन्–
बार्षिक बजेट प्रस्तुतीको पूर्व सन्ध्यामा हाम्रा सरकारी र सार्वजनिक विमर्शहरू उही पुरानै कर्मकाण्डी प्रकृतिका हुनु/देखिनु विडम्वनापूर्ण छ!
प्रतिव्यक्ति GDP विश्वको औसत भन्दा दश गुना कम ($14000 vs &1400), गत साठी बर्षको औसत आर्थिक वृद्धिदर ३-४% मात्र, ६०% जनसंख्या मूलतः निर्वाहमुखी कृषिमा आश्रित, औद्योगिक क्षेत्रको वृद्धिदर नगण्य वा ऋणात्मक, एक तिहाइ श्रमशक्ति वैदेशिक रोजगारीमा जान वाध्य, निर्यात भन्दा आयात १२-१३ गुना बढी, बार्षिक विकास खर्च भन्दा भित्री बाहिरी ऋणभुक्तानीको रकम बढी आदि भयावह सूचकांकले कति गम्भीर संरचनात्मक संकटको संकेत गर्छन्? यसको दिगो समाधान के? खै त्यता चासो र विमर्श?
मैले अर्थमन्त्रीको रूपमा २०६५/०६६ सालको बजेट निर्माणको बेलादेखि भन्दै आएको छु हाम्रो जस्तो ऐतिहासिक ढंगले अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फस्दै आएको प्राक्-औद्योगिक अर्थन्त्रलाई केही दशकभित्र समृद्ध आधुनिक औद्योगिक अर्थतन्त्रमा रूपान्तरण गर्न कछुवा झैं घस्रने क्रमिक विकासको बाटो हैन भ्यागुतो झैं उफ्रने महान् छलांग ( Great Leap)अथवा हवाइ उडान ( Take-Off) को बाटो अपनाउनुपर्छ! चाहे अघिल्लो शताब्दीका यूरोप-अमेरिका होउन् वा पछिल्लो दशकहरूका पूर्वी एशियाली देशहरू होउन् सबै विकसित देशहरूले अपनाएको बाटो त्यही हो।नेपाल त्यसको अपवाद हुन सक्दैन।
त्यसनिम्ति क्षणिक पपुलिष्ट वा तुष्टीकरणवादी बजेट हैन मूल नारा ‘ दुइ अंकको वृद्धिदर, दुइ दशक निरन्तर’ किटान गरेर त्यसलाई व्यवहारमा परिणत गर्न आवश्यक पर्ने गम्भीर प्रकृतिका राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक, कानूनी, वित्तीय, मौद्रिक क्षेत्रगत संरचनात्मक सुधार र रूपान्तरणकारी नीति/कार्यक्रम ल्याउने र लागू गर्ने साहस गर्नुपर्छ!
संसदीय अंकगणित मिलाएर कुर्सीको दिनगन्तीमा रमाउनेहरूबाट त्यस्तो के आशा गर्नु र!