देउवालाई रविको प्रश्न : प्रधानमन्त्री अफरको डेट एक्सपायर भयो कि बाँकी छ ?



काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले आफूलाई डेढ वर्षका लागि प्रधानमन्त्रीको प्रस्ताव गरेको खुलासा गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले गृहमन्त्री बन्नुभन्दा अघिल्लो रात आफूलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको र आफूले नमानेपछि भोलीपल्टदेखि संसद् बन्द गरेको बताएका छन् । उनले सो प्रस्ताव नगरेको भन्न सभापति शेरबहादुर देउवालाई चुनौती दिएका छन् ।


गृहमन्त्री लामिछानेले आफूलाई प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर कांग्रेस सभापतिलाई प्रश्न गरेका छन् ।

सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नताबारे नेपाली कांग्रेसले उठाएको मागबारे आइतबार संसद्‌मा जवाफ दिंदै गृहमन्त्री लामिछानेले आफ्नो कुनै संलग्नता नरहेको बताए । ‘गृहमन्त्री बन्न नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिं कुन नैतिकताले मिल्ने रहेछ ?’ उनले भने, ‘मेरो प्रश्न छ, हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीका रूपमा स्वीकार गर्ने अफरको डेट एक्सपायर भयो कि बाँकी छ ?’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति समेत रहेका लामिछानेले अगाडि भने, ‘यो कुराको जवाफ यही सदनमा उभिएर कांग्रेस सभापतिले दिनुभयो भने मेरो लागि कल्याण हुनेछ ।’