गिरिबन्धु टी–स्टेटमा नीतिगत भ्रष्टाचार भएको भन्दै छानबिन गर्न राप्रपाको माग



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गिरिबन्धु टी–स्टेटमा नीतिगत भ्रष्टाचार भएको भन्दै छानबिन माग गरेको छ । केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राजेन्द्र लिङ्देनले गिरिबन्धुमा संलग्नहरुलाई छानबिनको दायरामा ल्याउन माग गरेका हुन् ।

उनले कानुन नै बनाएर भ्रष्टाचार गर्ने व्यक्तिहरूमाथि छानबिनको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् । त्यस्तै राप्रपाले उठाएको ४० बुँदे माग सम्बोधन नभएको भन्दै सरकारलाई ध्यानाकर्षण गर्ने भएको छ । अध्यक्ष लिङ्देनले आन्दोलनको स्वरूप फेरेर सशक्त ढंगले अगाडि बढ्ने र सरकारलाई ४० बुँदे मागप्रति ध्यानाकर्षण गराउने बताए ।


उनले भने, ‘हामीले सरकारलाई जुन ४० बुँदे माग पेस गरेका थियौं, त्यो अहिलेसम्म पनि सम्बोधन नगरेको विषयमा फेरी ध्यानाकर्षण गराउने, सुशासन विकास र सेवा प्रवाहसँग सम्बन्धित विषयहरुमा तत्काल सम्बोधन गर्न र तत्कालिन माग र मुद्दाहरुमा सबै दलका बीच नवीन समझदारी निर्माणका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गर्ने र हाम्रो मागहरु सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय भएको छ ।’

उनले सत्तापक्षले जबर्जस्ती संसद चलाएर संसदको गरिमाको मर्यादा नराखेको आरोप लगाए । उनले प्रतिपक्षी दललाई बेवास्ता गर्दै संसदमा जबर्जस्ती गर्न खोज्नु सत्तापक्षको कमजोरी रहेको बताए । राप्रपाले सहकारी ठगी प्रकरणमा मुछिएका आफ्ना सांसद गीता बस्नेतलाई छानबिनमा सघाउन निर्देशन पनि दिएको छ ।