काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । सर्वोच्च अदालतले खगराजले लिएको विश्वासको मतलाई बदर गर्दै उनलाई पदमुक्त हुने फैसला सुनाएको हो ।
सर्वोच्चका न्यायाधीशद्धय सुनिलकुमार पोखरेल र कुमार रेग्मीको संयुक्त इजलासले अधिकारीले लिएको विश्वासको मत बदर गर्दै रिट निवेदनकर्ताको माग बमोजिम रिट जारी गरेको हो ।
नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरेका थिए ।
मुख्यमन्त्री अधिकारीले गत आइतबार प्रदेश सभाबाट विश्वासको मत लिएका थिए । गण्डकीका सभामुख कृष्ण धितालले ६० सदस्यीय प्रदेशसभामा ३० सिटलाई बहुमत घोषणा गरेर अधिकारीले बहुमत प्राप्त गरेको बताएका थिए । उनले आफूसँग पनि मत हाल्न पाउने अधिकार रहेको बताएका थिए ।
आइतबारको संसद् बैठकमा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३० मत परेको थियो भने विपक्षमा २७ तथा २ जना तटस्थ बसेका थिए । ३१ सिट बहुमतका लागि चाहिने गण्डकीमा सभामुखले ३० लाई नै बहुमत घोषणा गरेका थिए ।
पाण्डेले गत वर्ष कोशी प्रदेशको सन्दर्भमा सर्वोच्चले स्थापित गरेको नजिरलाई आधार मानेर परमादेश मागेका थिए । तत्कालीन मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा प्रदेश सभाको अध्यक्षता गरिरहेका कांग्रेस सांसद इस्राइल मन्सुरीले विश्वासको मत दिएपछि एमाले संसदीय दलका नेता हिक्मत कार्की अदालत गएका थिए । अदालतले थापाले लिएको विश्वासको मत बदर गर्दै कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।