कांग्रेसले १३ गते काठमाडौँमा प्रदर्शन गर्ने



काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिले सरकारविरुद्ध आगामी जेठ १३ गते प्रदर्शन गर्ने भएको छ । आज (बुधबार) बसेको पार्टी केन्द्रीय कार्यसम्पादन र संसदीय दलको संयुक्त बैठकले सरकारका पछिल्ला गतिविधिविरुद्ध काठमाडौं जिल्ला समितिको नेतृत्वमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णय सुनाउँदै पार्टी प्रवक्ता प्रकाशशरण महतले भने, ‘काठमाडौं जिल्ला समितिले १३ गते २ बजे प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गर्दैैछ । यसमा सम्पूर्ण भातृ संगठनहरु र पार्टीका साथीहरु पनि संलग्न हुनुहुनेछ ।’


प्रदर्शनका क्रममा समग्र सरकारको गलत प्रवृत्ति र संसदीय प्रक्रियालाई मिचेर बजेट ल्याउने, अध्यादेशबाट सत्ता चलाउने मानसिकताको विरोध हुने उनले बताए । पार्टी प्रवक्ता महतले सहकारीको ठगीविरुद्ध र बचतकर्ताको रमक संरक्षाका पक्षमा पनि प्रदर्शनका क्रममा सरकारको ध्यानाकार्षण गराइने बताए ।