इरानका पूर्वसभामुख लारिजानीद्वारा राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता



तेहरान । इरानी संसदका पूर्वसभामुख अली लारिजानीले इब्राहीम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि आगामी महिना हुने राष्ट्रपतीय निर्वाचनका लागि शुक्रबार आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यसअघि, सन् २०२५ मा चुनाव हुनेगरी तय भएको निर्वाचन मे १९ मा राईसीको निधन भएपछि सरेको थियो ।

गृह मन्त्रालयले बिहीबार देखि जुन २८ मा हुने प्रारम्भिक मतदानका लागि उम्मेदवारहरूको दर्ता सुरु गरेको छ र राष्ट्रपतिपदका आकाङ्क्षीहरूले सोमबारसम्म आवेदन दिन सक्नेछन् ।


इरानको विदेश नीतिबारे तुलनात्मक रूपमा नरम मानिएका ६६ वर्षीय लारिजानीले शुक्रबार बिहान आफ्नो निवेदन दिएको सरकारी टेलिभिजनले प्रसारण गरेको फुटेजमा उल्लेख छ ।

उनले आफू निर्वाचित भएमा अमेरिकी प्रतिबन्धको समस्या समाधान गर्ने र देशको अर्थतन्त्रमा सुधार ल्याउने आफ्नो ‘प्राथमिकता’ रहेको बताएका छन् ।

यद्यपि, इरानमा राष्ट्रपतिपदका सबै आकाङ्क्षीहरूजस्तै उनको उम्मेदवारीलाई पनि १२ सदस्यीय न्यायविद्हरूको निकाय ‘गार्जियन काउन्सिल’ले अनुमोदन गर्नुपर्छ ।

सन् २०२१ को चुनावअघि परिषद्ले अयोग्य घोषित गरेका केही सुधारवादी र उदारवादी उम्मेदवारमध्ये लारिजानी पनि एक हुन् । उक्त निर्वाचनमा ४८.८ प्रतिशत मात्र मतदान भएको थियो ।

लारिजानीले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरमा काम गरिसकेका छन् र तीन दशकभन्दा बढी समयदेखि इरानका विभिन्न महत्वपूर्ण पदमा रहेर काम गरिसकेका छन् ।

उनले सन् २००० को दशकको सुरुमा पश्चिमा मुलुकसँग इरानको आणविक वार्ताको निरीक्षण गरेका थिए तर इरानका प्रसिद्ध पूर्वराष्ट्रपति महमुद अहमदीनेजादसँग ‘गम्भीर मतभेद’ भएको भन्दै दुई वर्षपछि राजीनामा दिएका थिए ।

तेहरान र विश्व शक्तिराष्ट्रहरूबीच सन् २०१५ मा भएको आणविक सम्झौतालाई समर्थन गरेका तीन पटक संसदका सभामुख रहेका लारिजानीले दर्शनशास्त्रमा विद्यावारिधि गरेका छन् र उनी इस्लामिक गणतन्त्रको लिपिकीय नेतृत्वसँग सम्बन्ध भएका प्रभावशाली परिवारमा जन्मिएका हुन्।

गत बिहीबार अर्का पूर्व आणविक वार्ताकार कट्टरपन्थी सइद जलिलीले राष्ट्रपतिपदको उम्मेदवारका रूपमा नाम दर्ता गराएका थिए ।